काठमाडौं । वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई रोकेको भन्दै मेनपावर व्यवसायीले अध्यागमन विभागमा अवराेध गरेका छन्। आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले अध्यागमन विभागका महानिर्देशकको राजीनामा माग गर्दै प्रर्दशनसहित विभागमा अवराेध जनाएका हुन् ।
ठूलो संख्यमा रहेका म्यानपावर व्यावसायीले विभाग परिसरमा प्रर्दशन गर्दै मेनपावरले सिफारिस गरेर पठाएका श्रमिकलाई विनाकारण अध्यागमन विभागले फिर्ता गरेको भन्दै व्यावसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
केही दिन अघि घरेलु कामदारको रुपमा कुवेत जानलागेका ११७ जना लाई अध्यागमन विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फर्काएकोे थियो । अध्यागमन विभागले भिषा चेक गर्दा दुई प्रकारको भिषा बनाएर मेनपावरले पठाउन लागेको भन्दै कुवेत जान लागेका श्रमिकहरुलाई फर्काएको जनाएको थियो । तर, व्यवसायीहरूले भने भिसा, श्रम स्वीकृत, हवाई टिकट लगायतका सबै कागजात हुँदा पनि अध्यागमनले रोकेको आरोप लगाउँदै आएका छन् ।
वैदेशिक रोजगार ऎन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरि सस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेकाहरूलाई अध्यागमनले रोक्दै आएको महासचिव भुर्तेलकाे भनाइ छ ।




