काठमाडौं । एक दिने नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । केही समयअघि काठमाडौं आइपुगेका उनले पहिलो राजनीतिक भेटवार्ता कांग्रेस सभापति देउवासँग गरेका छन् ।
धुम्बाराहीस्थित निवासमै पुगेर लुले देउवासँग भेटवार्ता गरेका हुन् । आठ महिनाअघि देउवा प्रधानमन्त्री भएका बेला लु नेपाल भ्रमणमा आएका थिए । एमसिसी पारित गर्ने बेला देउवा र लुको भेटवार्ता निकै चर्चित बनेको थियो । शुक्रबारको भेटमा दुवै नेताबीच नेपाल र अमेरिकाको सम्बन्धमा कुराकानी भएको थियो ।
डोनाल्ड लुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी शुक्रबार राति नै अमेरिका फर्किने भएका छन् ।




