असार २८ बिहिबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभर घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस संकल्प खबरका १० मुख्य समाचार :
प्रधानमन्त्री प्रचण्डका राजनीतिक कार्यक्रम चार दिनका लागि स्थगित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई आउँदो ३० गतेसम्म स्थगित गरेका छन् ।
श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना सम्पूर्ण कार्यक्रम चार दिनका लागि स्थगित गरेका हुन् । प्रधमानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले श्रद्धाञ्जली र समवेदना दिन बालुवाटार आउनेहरुसँग भेटघाट र कुराकानी गर्ने बाहेक अरु कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तेस्रो पटक नेपाल आउदैँ
आठ महिनापछि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् ।
सहायक मन्त्री डोनाल्ड एक दिवसीय भ्रमणका लागि शुक्रबार नेपाल आउने भएका हुन् । नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थाका प्रतिनिधिसँग पनि भेटघाट गर्ने जनाइएको छ ।
डोनाल्ड केही दिनदेखि भारत, बंगलादेश र श्रीलंकाको भ्रमणमा निस्केका छन् । सोही क्रममा उनी नेपाल आउन लागेका हुन् । नेपालका लागि उनको यो तेस्रो भ्रमण हो ।
सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्चको आदेश
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा निजी व्यक्तिका नाममा गरेको प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घन्टाभित्र अदालतमा पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले बिहीबार राउतलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने निर्णय गरेको आरोपमा तत्कालीन शाखा अधिकृत रहेका राउत सोमबार पक्राउ परेका थिए । त्यसपछि उनी बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
मन्त्रिपरिषद बैठकले गरेका मन्त्रालयगत १३ निर्णय सार्वजनिक
सरकारले भारतको गुजरातमा हुने लागेको विश्वका विकसित र विकासशील मुलुकहरुको समूह जी२० को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।
असार २६ गते भएको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । असार २६ गते सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयगत १३ निर्णय गरेको छ ।
राप्रपाको सदस्यता दर्ता अनलाइन प्रणालीबाट लिन सकिने
राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाको सदस्यता दर्ता अनलाइन प्रणालीबाट गर्न सकिने भएको छ ।
विहिबार राप्रपाले एक सुचना जारी गर्दै अनलाई प्रणालीबाट साधारण सदस्यता र क्रियासिल सदस्यता दर्ता गर्न सकिने जनाएको हो । राप्रपाको ददस्य बन्न चाहने नागरिकहरुले राप्रपाको वेवसाइटमा गएर सम्बन्धित कागजातहरु पेश गररे भर्न सकिने छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ
नेपाली नागरीकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने समुहका केशव तुलाधार पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न प्रलोभन देखाई गजेन्द्र बुढाथोकी लगाएतका व्यक्तीहरुलाई ठगी गरेको आरोपमा उनलाई बुधबार अनुसन्धानमा खटिएको प्रहरीको टोलीले काठमाडौंको सानोभ¥याङबाट पक्राउ गरेको काठमाडौंँ उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रवक्ता प्रहरी उपनिरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
बैंकहरूबीच आफै निक्षेपको ब्याजदर तय गर्ने सहमति
वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरमा गर्दै आएको ‘भद्र सहमति’ तोडेर बैंकले आफै निक्षेपको ब्याजदर तय गर्ने सहमति गरेको छ । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले भद्र सहमति तोडेर बैंकले आफै निक्षेपको ब्याजदर तय गर्ने सहमति गरेको हो ।
नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले तरलताको अवस्था सहज भएकाले अब साउनदेखि लागू हुनेगरी बैंकहरुले आफैले निक्षेपको ब्याजदर तोक्ने सहमति भएको बताए ।
सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो ।
बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
भ्रष्टाचारको आरोपमा अख्यियारद्वारा विभिन्न १३ जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण झाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार प्रदेशका आठवटै जिल्लामा सहकारीसम्बन्धी आयमूलक तालिम सञ्चालन गर्दा भ्रष्टाचार गरेको आरोपमा झाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगले झाविरुद्ध रु सात लाख एक हजार तीन सय ८० जरिवाना र बिगो समेत असुल उपरको माग गरेको छ ।
कुवेत जान लागेका ११७ जना विमानस्थलबाट फिर्ता
श्रमिकसँग दुई खालको भिसा फेलापरेपछि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट कुवेत जान लागेका ११७ जना फिर्ता भएका छन् । भिसा शंकास्पद देखिएपछि बुधबार सलाम एयरमार्फत टिकट लिएका १०१ जना र कुवेत एयरमार्फत १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काइएको अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए ।
श्रममन्त्रायबाट उनीहरूले श्रम स्वीकृति लिए पनि विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको थाहा पाएपछि अध्यागमनले फर्काएको उनको भनाइ छ ।
यस्ता अवैध गतिविधी गरेर विदेश जाने नेपाली नागरिकलाई झुट्टो आवश्वासन दिएर नक्कली कागजात बनाई विदेश पठाउने म्यानपावरलाई आवश्यक कार्बाही गर्ने विषयमा गृह मन्त्रालय र श्रम मन्त्रालयसँग छलफल गरिसकिएको स्रोतले जानाएको छ ।




