असार २७ बुधबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभर घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस संकल्प खबरका १० मुख्य समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की धर्मपत्नी सिता दाहालको अन्त्यष्ठी राजकीय सम्मानका साथ सम्पन्न
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की धर्मपत्नी सीता दाहालको अन्त्यष्ठी राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा सम्पन्न भएको छ । पशुपति आर्यघाटमा स्वर्गीय दाहालको अन्तिम श्रद्धाञ्जली सभामा विभिन्न राजनैतिक दलका शिर्ष नेताहरु, पाटी प्रतिनिधि,नागरिक समाज,बुद्धिजीवी लगाएत विशिष्ट व्यक्तीहरुले सहभागि जनाएर हार्दिक श्रद्धाञ्जली एवम समवेदना व्यक्त गरेका थिए । प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक परेका कारण सबै राजनीतिक गतिविधि ठप्प भएका छन् । यस्तै सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय समेत भएको छ ।
नेकपा माओवादी केन्द्रको सल्लाहकारका रुपमा रहेकी दाहालकोे ६९ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको थियो
दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ बनेपछि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
सीता दाहालको निधनपछि सबै राजनीतिक गतिविधि ठप्प
प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनपछि प्रायः सबै राजनीतिक गतिविधि ठप्प भएको छ । बुधबारका लागि तय भएका अधिकांश राजनीतिक कार्यक्रम स्थगित भएका भएका छन् ।
करिब एक वर्षपछि बस्न लागेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएर आगामी साउन २ गते बस्ने निर्णय भएको कांग्रेस कावा मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए । निर्वाचनको समीक्षा, सरकारमा सहभागी पार्टीका नेताहरू, केन्द्रीय विभागलगायतका विषयमा बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने तयारी गरेका थिए । अब पाँच दिनपछि मात्र बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका कारण बुधबार बस्ने तय भएको राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ ।
बुधबार बस्ने तय भएको समाजवादी मोर्चाको बैठक पनि स्थगित भएको छ ।
कोशी सरकारलाई दीर्घकालीन असर हुने कुनै निर्णय नगर्न आदेश
सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर हुने कुनै निर्णय नगर्न आदेश दिएको छ । दिदै उनको नियुक्तिविरुद्ध परेको रिटमाथि न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भएको सुनुवाईपछि केही शर्तसहित दीर्घकालीन असर हुने कुनै निर्णय नगर्न आदेश दिदै साउन ७ देखि निरन्तर सुनुवाई गर्ने आदेश दिएको हो ।
इजलासले उद्धव थापालाई कोशी प्रदेशको मुख्य मन्त्रीमा नियुक्त गर्ने सन्दर्शमा पेश भएका प्रस्ताव, समर्थन, दावी, हस्ताक्षरलगायतका सम्पूर्ण कागजातसहित थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख कार्यालयको भएको निर्णयको सक्कल फाइल साउन ३ गते भित्र पेश गर्न निर्देशन दिएको छ । सत्ता पक्ष र प्रतिपक्षमा ४६(४६ सांसद भएपछि सभामुखको निर्णायक हस्ताक्षर लिएर काँग्रेस नेता थापा मुख्यमन्त्री बनेपछि कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चामा रिट दायर गरेका थिए ।
भ्रष्टाचारको आरोपमा अख्यियारद्वारा १३ जनाविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण झाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार प्रदेशका आठवटै जिल्लामा सहकारीसम्बन्धी आयमूलक तालिम सञ्चालन गर्दा भ्रष्टाचार गरेको आरोपमा झाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगले झाविरुद्ध रु सात लाख एक हजार तीन सय ८० जरिवाना र बिगो समेत असुल उपरको माग गरेको छ ।
प्रहरी जवानलाई हातखुट्टा बाँधेर दिएको यातनाको छानबिन गर्न समिति गठन
जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हात खुट्टा बाँधेर गरिएको अमानवीय क्रियाकलापको छानबिनका लागि समिति गठन गरिएको छ । डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरी जवान रायले अधिक ड्युटी गराएको गुनासो गर्न इन्स्पेक्टर राइकामा पुगेका बखत इन्स्पेक्टर राईले गाली गलौज गर्दै हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको दाबी गरिएको छ । रायका आफन्तले न्यायको लागि अदालत जाने बताएका छन् ।
यस्तो गतिविधिले प्रहरी सेक्टरमा माथिल्लो दर्जाका कर्मचारीहरुले तल्लो दर्जाका कर्मचारीहरुलाई शोषण गरिएको देखिएको छ ।
प्रभु बैंकले पशुपति विकास कोषलाई १७ लाख मूल्य बराबरको गाडी प्रदान
प्रभु बैंकले फोहोर उठाउन १७ लाख मूल्यबराबरको हाइड्रोलिक गाडी पशुपति क्षेत्र विकास कोषलाई दिएको छ ।
बैंकले बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई उक्त गाडी प्रदान गरेको हो । कोषलाई वितरण गरेको गाडीको चाबी प्रभु बैंकका प्रमुख कार्यकारी निर्देशक अशोक शेरचनले मन्त्री किराँतीलाई हस्तान्तरण गरेका हुन् ।
सरकारमा जान जनमतद्वारा मन्त्रीको नाम सिफारिस
जनमत पार्टीले सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ । पार्टीका तर्फबाट अनितादेवी शाहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको जनमतका उपाध्यक्ष अब्दुल खानले बताए । तर, मन्त्रालयको भने टुंगो लागेको छैन । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले अमनलाल मोदीलाई मन्त्रीबाट हटाएर जनमतलाई संघीय मामिला तथा सामान्य मन्त्रालय दिने तयारी गरेका छन् । जनमतले भने विकासे मन्त्रालय खोजेका छन् ।
.पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको काम ४० प्रतिशत सम्पन्न
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ४० प्रतिशत काम सकिएको छ । परियोजनाअन्तर्गत दोस्रो चरणको काम हालसम्म करिब ४० प्रतिशत सकिएको र बाँकी काम तीव्ररूपमा अघि बढेको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए ।
परियोजनाको दोस्रो चरणअन्तर्गत भारतीय आयल निगमबाट बाराको अमलेखगञ्जस्थित डिपोमा चार हजार सय किलोमिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, दुई सय ५० किलोमिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माणका भइरहेको प्रमुख उपाध्यायले बताए ।
ललिता निवास प्रकरण : समरजंग कम्पनीका तत्कालिन सहलेखापाल पौडेल पक्राउ
ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेल पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहलेखापाल पौडेललाई काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो ।
कीर्ते तथा सङ्गठित रुपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत पक्राउ परिसकेका छन् ।
दोहोरो अंकले बढ्यो नेप्से
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से २५.३१ अंकले बढेर दुई हजार ९७ दशमलब ५५ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से नेप्से ४.७३ अंकले घटेर दुई हजार ७२ दशमलब २४ विन्दुमा झरेर बन्द भएको थियो ।
शेयर बजार बढेसँगै कारोबार रकम पनि बढेको छ । आज तीन अर्ब १८ करोड ७६ लाख बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा दुई अर्ब ८५ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १८५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३८ कम्पनीकोे शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज दश कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।




