काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले देशको भलो चिताएर जनताको हितमा काम गर्नु नै सबैको राष्ट्रिय दायित्व भएको बताएका छन् । उनले सबैलाई विकास निर्माणमा जुट्न आग्रह गरे ।
आज (शनिबार) कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अभिनन्न सभालाई सम्बोधन गर्दै उनले यो दायित्वमा निरन्तर सङ्गठित र व्यवस्थित भएर लाग्नु नै प्रजातान्त्रिक पद्धति भएको बताए । पूर्व राजा शाहले मुलुकको राज्य व्यवस्थालाई जुन शब्दले सम्बोधन गरे पनि देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान गर्नु नै रहेको बताएका छन् । उनले लम्पसार परेर बाँच्नु नेपालीको अपमान हुने समेत बताएका छन् ।
उनले भने, ‘लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिक वाद, भौतिकवाद आदि जे जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै हो । विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो ।’
पछिल्ला दुई दशकमा अभ्यास हुँदै आएको लोकतान्त्रिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै पूर्व राजा शाहले अहिले धेरै कुरा थोरै काम भएको बताएका छन् । देश दर्शनका क्रममा जनदृष्टिका आधारमा आफूले यही कुरा बुझेको बताउँदै उनले भने, ‘दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधि व्यवस्था, शासन प्रशासन, के त्यस प्रकारले सही र सार्थक भएको छ र ? हामी जहाँ जहाँ जान्छौ, जे जे सुन्छौँ र जस्तो जस्तो देख्छौँ, त्यसबाट थाहा पाउँछौँ, आज कुरा धेरै काम थोरै भएको छ । देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो ।’
पूर्व राजा शाहले जनताले सोचेको र खोजेको जस्तो नहुँदा त्यस्तो पद्धति केही समयका लागि बिकाऊ मात्र हुने टिकाउ नहुने बताए । उनले भने, ‘नेपाल र नेपालीको सही हित चाहने हाम्रा मित्रहरूले पनि यस्ता कुरा गहिरिएर सोचिरहेका छन् । जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार जब हुँदैन, तब त्यस्तो पद्धति केही समयको बिकाऊ मात्र हुन्छ, टिकाउको हुँदैन ।’




