मुख्य समाचार

कांग्रेस सुधारका लागि नेता राईले दिए ६ बुँदे सुझाव

काठमाडौं । तनहुँ १ र चितवन २ मा अपेक्षित नतिजा ल्याउन नसकेपछि अहिले नेपाली कांग्रेसमा व्यापक सुधार आवश्यक रहेको टिप्पणी र विश्लेषण आउन थालेका छन् ।

कांग्रेसकै गढ तनहुँमा समेत आफ्नो विरासत जोगाउन नसकेपछि पार्टीमा मात्र होइन, शुभेच्छुकहरूले समेत सच्चिन व्यापक सुझाव र सल्लाह दिएका छन् । कांग्रेसमै पनि पुनर्जागरण आवश्यक रहेको बहस सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमा कांग्रेसको आलोचना धेरै भएकाले उपनिर्वाचनमा पराजित भएको अभिव्यक्ति दिएका छन् ।

उनले कांग्रेस संसदीय दलको बैठकमा ठूला दललाई जनताले नपत्याएको भन्दै पार्टीमा सुधार जरुरी रहेको धारणा राखिसकेका छन् ।अहिले कांग्रेसमा बाहिर र भित्रबाट पनि विभिन्न सुझाव आइरहेका छन् । यसैक्रममा कांग्रेस सुनसरीका नेता सूर्यमाराज राईले कांग्रेस सुधारका ६ बुँदे सुझाव सार्वजनिक गरेका छन् ।

उनले ६ महिनाभित्रै विशेष महाधिवेशन आवश्यक रहेको र निर्ममतापूर्वक अनुशासन पालना आवश्यक रहेको उल्लेख गरेका छन् । राईले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्ः

कांग्रेस सुधारका आधार
१. सभापतिलगायत सम्पूर्ण पदाधिकारीहरुको राजीनामा।
२. ६ महिनाभित्र विशेष महाधिवेशन।
३. भ्रष्ट, माफिया, दलाल, मण्डले, करछलीका नाइकेहरुलाई घोक्रेठ्याक।
४. निर्ममतापूर्वक अनुशासनको कार्यान्वयन।
५. टिकट वितरणमा पारदर्शिता।
६. योगदान गरेका असल, नैतिकवानहरुको मूल्यांकन।

राई २०७४ को आमनिर्वाचनमा सुनसरीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । मंसिरको निर्वाचनमा उनले टिकट नै पाएनन् । सुनसरीमा राई लोकप्रिय नेता मानिन्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *