काठमाडौँ । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको स्थलगत अनुगमन गर्दै समयमै सम्पन्न गरी छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।
मंगलबार गरिएको अनुगमनका क्रममा समितिले बहुप्रतिक्षित यस आयोजनाको प्रगति समीक्षा गर्दै ढिलाइ नगरी कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई सचेत गराएको हो ।
कुल २ दशमलव ६८ किलोमिटर लम्बाइको सुरुङमार्गमा दुईवटा छुट्टाछुट्टै सुरुङ निर्माण भइरहेका छन् । मुख्य सुरुङ सवारी आवागमनका लागि प्रयोग हुनेछ भने सहायक सुरुङ आपत्कालीन उद्धार तथा सुरक्षाका लागि निर्माण गरिएको हो । आयोजनाको निर्माण चिनियाँ कम्पनी युसिन–एआरटी जेभीले पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित गरिरहेको छ ।
अनुगमनका क्रममा निर्माण कम्पनीका प्रतिनिधिहरूले आयोजनाको प्रगतिबारे समितिलाई जानकारी गराएका थिए ।
समितिकी सभापति पूजा चौधरीले राजधानी प्रवेशद्वारमा हुने लामो सवारी जामको समस्या समाधानका लागि सुरुङमार्ग अत्यन्त महत्त्वपूर्ण हुने बताइन् । उनले आयोजना सम्पन्न भएपछि यात्रुहरूको समय बचत हुने र आवागमन सहज बन्ने विश्वास व्यक्त गरिन् ।
उनले ठूला पूर्वाधार आयोजनामा नेपाली श्रमिकको सहभागिता न्यून हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै उनीहरूलाई आवश्यक सीप, तालिम र लाइसेन्स प्रदान गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गर्न सक्षम बनाउनुपर्ने धारणा राखिन् ।
उक्त सुरुङमार्ग निर्माणमा जापानको हाजमा आन्दो कर्पोरेसन संलग्न छ भने निप्पोन कोइ, जीइओ रिसर्च तथा नेपाली परामर्शदाता संस्थाहरूले संयुक्त रूपमा डिजाइन र सुपरभिजनको जिम्मेवारी सम्हालेका छन् ।




