समाचार

नेपालको जनसंख्या दुई करोड ९१ लाख, पुरुषभन्दा महिलाको संख्या सात लाख बढी

काठमाडौं । नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ कायम भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना ०७८ को नतिजा सार्वजनिक गरेका हुन् । जसअनुसार पुरुष एक करोड ४२ लाख ५३ हजार ५५१ र महिला एक करोड ४९ लाख ११ हजार २७ जना छन् । पुरुषभन्दा महिलाको संख्या सात लाख बढी देखिएको छ ।

जनगणना अवधिमा वार्षिक औसत जनसंख्या वृद्धिदर प्रतिवर्ष ०.९२ प्रतिशत रहेको छ, जुन २०६८ सालको जनगणनामा १।३५ प्रतिशत प्रतिवर्ष थियो । १० वर्षअघि २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४, हजार ५०४ थियो । विवरणमा वार्षिक औसत जनसंख्या वृद्धिदर धेरै भक्तपुरमा ३.३५ प्रतिशत र कम रामेछापमा –१.६७ प्रतिशत देखिएको छ ।

भौगोलिक क्षेत्रअनुसार सबैभन्दा धेरै जनघनत्व तराईमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर छन् । जिल्लामा काठमाडौंमा पाँच हजार १६९ जना प्रतिवर्ग किलोमीटर र सबैभन्दा कम मनाङमा तीनजना प्रतिवर्ग किलोमिटर छ ।

राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभागमार्फत २५ कात्तिकदेखि ९ मंसिर ०७८ को जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *