शिक्षा / स्वास्थ्य

शिक्षाको गुणस्तर वृद्धिमा सबैको भूमिका हुने

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीको समान भूमिका हुने बताएका छन् ।

गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माविको ४९औँ वार्षिकोत्सब समारोह उद्घाटन गर्दै उहाँले प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि तीन पक्षको समन्वय र सहकार्य आवश्यक भएको बताए ।

“अब्बल विद्यार्थी उत्पादन गर्नका लागि शिक्षकले राम्रो शिक्षा दिनुपर्छ, अभिभावकले त्यसको वातावरण तयार गरिदिनुपर्छ, विद्यार्थीले मन लगाएर पढ्नुपर्छ,” उनले भने , “यी तीन पक्षको समन्वय र सहकार्य हुन सक्यो भने मात्रै गुणस्तरीय र अब्बल विद्यार्थी उत्पादन गर्न सकिन्छ ।”

उपसभापति खड्काले विद्यार्थीलाई किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलाप र जीवन जिउने कला सिकाउनु आवश्यक रहेको बताए ।

“गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप र अनुशासन, चरित्र र जीवन पद्धति सिकाउनेतर्फ पनि ध्यान दिन आवश्यक छ,” उनले भने “अनुशासन, चरित्रवान र जीवन पद्दति बुझेको विद्यार्थी अहिलेको आवश्यकता हो ।”

उपसभापति खड्काले विद्यालयले राखेका माग पूरा गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ । उनले विद्यालयलाई आवश्यक बसका साथै पूर्वाधार निर्माणको माग पूरा गर्ने उनको भनाइ छ ।

उपसभापति खड्काले निर्वाचनका क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता पनि दोहो¥याए । “सरकार फेरबदल हुँदा चुनावमा गरिएका वाचा पूरा हुँदैनन् कि भन्ने मतदातामा चिन्ता देखियो,” उनले भने “हामीले पाँच वर्षका लागि जे–जे वाचा गरेका थियौँं, ती सबै पूरा हुन्छन् ।”

गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले पालिकाभित्रका अभिभावक नभएका बालबालिकाको अभिभावकत्व नगरपालिकाले ग्रहण गरेको बताए ।

“त्यस्ता बालबालिकालाई यसै विद्यालयमा आवासीय रुपमा राखेर शिक्षाको प्रबन्ध मिलाएका छौँ,” उनले भने , “कुनै पनि बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित नहुन भन्नेमा हामी चनाखो छौंँ ।”

उनले आवासीय विद्यालयको भौतिक पूर्वाधार सुधार र प्रविधितर्फ पालिकाले सहयोग गर्दै आइरहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *