काठमाडौं । कांग्रेसका वरिष्ठ नेताद्वय गोपालमान श्रेष्ठ राष्ट्रपतिका आकांक्षी देखिएका छन् ।
श्रेष्ठलाई राष्ट्रपतिको आश्वासन दिएको कांग्रेसभित्र चर्चा चलेको छ । कांग्रेसले समानुपातिक सांसद छनोट गर्दा जनजाति कलस्टरको १ नम्बरमा रहेका श्रेष्ठ छुटेका थिए ।
कांग्रेसका ३२ जना समानुपातिक सांसदमा तीन पुरुषले मात्र अवसर पाउँदा सहमहामन्त्री जीवन परियार, प्रवक्ता प्रकाशशरण महत र नेता विमलेन्द्र निधिको स्थान सुरक्षित भएको थियो ।
‘सभापतिले आवश्यक परेको अवस्थामा पहिलो प्राथमिकता उनलाई नै दिने भनेको श्रेष्ठको दाबी छ । राजनीतिका विभिन्न घुम्तीमा दरिलो साथ दिएका श्रेष्ठले राष्ट्रपतिमा दाबी गरेपछि देउवालाई सकस हुने देखिन्छ । देउवाले २०५९ मा पार्टी विभाजन हुँदा श्रेष्ठले देउवालाई साथ दिएका थिए ।
देउवा नेतृत्वको तत्कालीन कांग्रेस प्रजातान्त्रिकमा उनी उपसभापति बने । २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले देउवालाई अपदस्थ गरेर जेल हालेका थिए । त्यसपछि भएको कांग्रेस प्रजातान्त्रिकको ११ औं राष्ट्रिय सम्मेलन गरेर कार्यवाहक सभापति श्रेष्ठले जेलमा रहेका देउवालाई सर्वसम्मत सभापति बनाएका थिए ।
पछिल्लो समय कांग्रेसको संगठन विभाग प्रमुख र निर्वाचन परिचालन समितिको संयोजकमा रुपमा देउवाको मिसन सफल बनाउन भूमिका खेलेको उनको दाबी छ। श्रेष्ठ नेतृत्व गरेको आम निर्वाचनमा कांग्रेस मुलुकको पहिलो पार्टी बनेको छ । निर्वाचन परिचालन समितिका संयोजक नै सांसदबाट बन्चित भएकाले राष्ट्रपति आफूले पाउने श्रेष्ठको आशा रहेको छ ।
लोकतन्त्रकका लागि ८ वर्ष जेल जीवन विताएका श्रेष्ठ देउवाले गुन तिर्नेमा आशावादी देखिएका छन् । ६२ वर्षदेखि सक्रिय राजनीतिमा रहेका श्रेष्ठ राष्ट्रपति भएर विदा हुन चाहन्छन् । कांग्रेसमा आफू देउवाकै सर्कलका रहेको उनको भनाइ छ ।
‘देउवा डडेल्धुराबाट र श्रेष्ठ स्याङजाबाट काठमाडौं आएर त्रिचन्द्र कलेजमा सँगसँगै अध्ययन गरेर अघि बढेको श्रेठको भनाइ छ । उनले भने,‘ ‘मैले देउवाजीलाई राजनीतिक हरेक मोडमा साथ दिएको छु । राष्ट्रपतिका विषयमा उहाँ अब मेरो पक्षमा उभिनुहुन्छ ।’




