निर्वाचन-२०७९

धनुषा १ मा मातृकासँग पुरानै उमेदवार प्रतिस्पर्धामा

काठमाडौं । धनुषा क्षेत्र नम्बर १ मा पुरानै उम्मेदवार प्रतिस्पर्धीमा देखिएका छन् । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव र एमाले–जसपा गठबन्धनबाट जसपाका दीपक कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उहाँहरुबीच मूख्य चुनावी प्रतिस्पर्धा हुने सो क्षेत्रमा चर्चा छ ।

उनीहरु दुबै जना गत २०७४ सालको निर्वाचनमा पनि प्रतिस्पर्धी रहेका थिए । गत २०७४ सालको निर्वाचनमा यादव २६ हजार चार सय १८ मत प्राप्त गरी विजयी हुँदा कार्कीले १७ हजार दुई सय ९६ मत प्राप्त गरेका थिए । यादव गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुभएका थिए ।

यसपटकको निर्वाचनमा भने यादव र कार्कीसँगै जनमत पार्टीबाट किशोरी साह(कमल) पनि चुनाबी प्रतिस्पर्धामा उत्रिएका छन् । गत २०७४ सालको निर्वाचनमा नेकपा एमालेका तर्फबाट धनुषा क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित साहलाई यसपटक एमालेले टिकट नदिएपछि उहाँ एमाले परित्याग गरेर जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

गत २०७४ सालको निर्वाचनमा माओवादी नेता यादवलाई नेकपा एमालेको साथ थियो भने तत्कालीन सङ्घीय समाजवादी फोरमबाट उम्मेदवार बनेका कार्कीलाई तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) ले पनि साथ दिएको थियो ।

तर पनि कार्की यादवसँग करिब नौ हजार एक सय २२ मत अन्तरले पराजित थिए । अहिले राजनीतिक दलको गठबन्धन फेरिएकाले चुनावी परिणाम कसको पक्षमा जान्छ भन्ने अनुमान गर्न गाह्रो रहेको धनुषाको गणेशमान चारनाथ नगरपालिका– ४ का रवीन्द्र साहले बताए ।

‘‘दुई वटा छुट्टाछुटै गठबन्धनबाट यादव र कार्की चुनावी मैदानमा छन् । , यी र्दईबीच रोचक प्रतिस्पर्धा हुने हाम्रो अनुमान रहेको भनाइ छ राजनीतिका पुराना खेलाडी रहेका उनी अन्य दलको साथ छ भने अघिल्लो निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी कार्की पनि एमालेको समर्थन पाएको छ ।र ।” जसका कारण ती दुईमध्ये कसले बाजी मार्ला भन्ने अनुमान गर्न सहज नभएको उहाँको भनाइ छ । यतिबेला यादवलाई माओवादीसँगै नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलको समर्थन छ भने कार्कीलाई जसपासँगै एमालेले साथ दिएको छ ।

गत २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पार्टीबाट वडाध्यक्ष पदमा उम्मेदवार बनेकाको मतलाई जोड्दा कांग्रेसले १७ हजार पाँच सय ५०, एमालेले १५ हजार आठ सय १७, माओवादीले १२ हजार दुई सय ९२ र जसपाले नौ हजार १० मत प्राप्त गरेको थिए ।

त्यस्तै लोसपा उम्मेदवारले छ हजार ६ सय २४, राप्रपाले चार हजार नौ सय ३०, जनमत पार्टीले तीन हजार तीन सय २०, एकीकृत समाजवादीले दुई हजार नौ सय ३७ र स्वतन्त्र उम्मेदवारले तीन हजार तीन सय २४ प्राप्त गरे ।

सो क्षेत्रमा सबैला नगरपालिका, गणेशमान चारनाथ र धनुषाधाम नगरपालिकाको सबै वडा तथा हङ्सपुर नगरपालिका–२, ३, ५, ७ र ८ गरी पाँच वडा, मिथिला बिहारी नगरपालिका– १, ३, ४ र ५ गरी चार वडा, क्षिरेश्वरनाथ नगरपालिकाका ८ र ९ गरी २ वडा र मिथिला नगरपालिकाको ४ नम्बर वडा गरी ४५ वडा पर्दछ ।

पाँच दलीय गठबन्धनको उम्मेदवार, पार्टीको बलियो पकड, पाँच वर्षमा गरेको विकासका कामले चुनाव आफूहरुकै उम्मेदवारले जित्ने नेकपा माओवादी केन्द्र धनुषाका अध्यक्ष दीपक यादवले बताए । प्रतिनिधिसभामा आफ्नो पार्टीको उम्मेदवार भए पनि दुबै प्रदेशसभा क्षेत्रमा कांग्रेका उम्मेदवार भएकाले कांग्रेसबाट अन्तरघात नहुने र गठबन्धनको जित सुनिश्चित रहेको उनकोृ दावी छ । ‘‘जित्नलाई हाम्रो गठबन्धनको आफ्नै ३९ हजार भन्दा बढी मत छ”, उनले भने ,‘‘विगतमा एमालेबाटै जितेका साह एमाले छाडेर जनमत पार्टीबाट उम्मेदवार बनेको यसको फाईदा हामीलाई हुन्छ ।”

अघिल्लो चुनावमा निकटतम प्रतिद्वन्द्वी बनेको र यसपटक एमालेको साथ तथा निर्वाचन क्षेत्रमा लामो समयदेखि जनताको निस्वार्थ काम गरेकोले आफूले जित्ने जसपाका उम्मेदवार दीपक कार्की दाबी गर्छन ।‘‘यो जिल्ला र क्षेत्रमा मैले लामो समय काम गरेको छु”, उनले भने ,‘‘त्यसैले मतदाताले मत दिन्छन भन्ने मलाई विश्वास छ, मेरो कामको मूल्याङ्कन गरेर जनताले मलाई अवश्य जिताउँछन् ।”

यता दल बदलेर प्रदेशबाट प्रतिनिधिसभामा फड्को मार्ने आकांक्षा राखेका साहले आफू विजयी हुने दाबी गर्छन । ‘‘अब जनता विगत जस्तो झुक्किँदैनन्, म एमालेमा छँदा पार्टीको मतदाताभन्दा धेरै मत मलाई परेको थियो”, साहले भन्नुभयो,‘‘ यो मेरो व्यक्तित्व र समाजमा गरेको निस्वार्थ सेवाको कारणले हो ।” त्यसैले यसपटक पनि आफू नै चुनाव जित्ने उहाँको दाबी छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दत्र्ता गराएका उम्मेदवार यतिबेला धनुषामा प्रचारप्रसार तथा घरदैलो अभियानलाई तीव्रता दिएका छन् । विभिन्न पार्टीका केन्द्रीय नेता चुनावी प्रतिस्पर्धामा रहेकाले धनुषामा यतिबेला चुनावी माहौल तातेको छ । चुनावी तयारीलाई तीव्र पारेको सत्तारूढ पाँच दलिय गठबन्धन र एमाले–जसपा गठबन्धन छुट्टाछुटै बैठक, भेला र घरदैलोलाई तीव्रता दिएका छन् ।

धनुषामा दुई लाख ५२ हजार नौ सय १५ पुरुष, दुई लाख २१ हजार ६ सय ६५ महिला र अन्य सात गरी कूल चार लाख ७४ हजार पाँच सय ८७ जना मतदाता रहेको मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले जनाएको छ । धनुषामा तीन सय २२ मतदानस्थल र ६ सय पाँच मतदान केन्द्र तोकिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *