काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा बसाइँसराइँको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै निष्पक्ष छानबिनका लागि कांग्रेसले जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा प्रदर्शन गरेको छ ।
२०७४ देखि २०७९ साल सम्मको निर्वाचनमा बुढानीलकण्ठ नगरपालिकामा तीन हजार भन्दा बढी फर्जी मतदाताहरूले मतदान गरेको पुष्टि भएको प्रमाणसहित निर्वाचन आयोगमा बुझाएको र छानबिनलाई प्रभावकारी बनाउनका लागि भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
आगामी निर्वाचनमा फर्जी मतदाताको नाम हटाउनुपर्ने र कीर्ते काममा सहभागीलाई कारबाही लागि ध्यानाकर्षण गर्न प्रदर्शन गरिएको कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ४ का क्षेत्रीय सचिव बद्री भट्टराईले बताए ।
उनले नगरपालिकाभित्र सरकारी छापको दुरुपयोग गरिएको, कार्यालय सचिवको हस्ताक्षर प्रयोग भएकाले फौजदारी संहिता अनुसार कारबाही गर्नुपर्ने आफूहरूको माग रहेको बताए ।
उनले आफूहरूको माग सुनुवाइ नभएसम्म प्रदर्शन जारी राख्ने बताए । यसअघि बुढानीलकण्ठ नगरपालिकामा बसाइसराइको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ४ ले निर्वाचन आयोगमा उजुरी दिएको थियो ।




