काठमाडौँ । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई कारबाही गर्न नहुने बताएका छन् ।
पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा बिहीबार उनले उनीहरूलाई कारबाही नै गर्ने भए सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबाट कारबाही शुरु गर्नुपर्ने बताएका छन् ।
‘जहाँसम्म चुनावमा असहयोग गरेको कुरा छ । तिनीहरूलाई कारबाही गर्ने कुरा पनि उठेको छ’, उनले भने, ‘गठबन्धन भएका ठाउँमा स्वतन्त्र उठेका र असहयोग गरेकालाई कारबाही गर्ने हो भने सबैभन्दा पहिला शेरबहादुरजी र रामचन्द्रजीलाई गर्नुपर्छ । किनभने उहाँहरूले नै हो हामीलाई अन्त भोट हाल्न सिकाएको हो ।’
उनले आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भनेर विभाजित नहुन पनि आग्रह गरे । उनले सबैलाई मिलाएर लैजान सुझाव दिएका छन् ।




