काठमाडौं । सत्ता रुढ नेपाली कांग्रेसको (बुधबार) केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको चर्को आलोचना भएको छ ।
(बुधवार) को बैठकमा ४८ जनाले बोलेकोमा अधिकांश सदस्यले महामन्त्रीहरूको भूमिकाप्रति प्रश्न उठाएको केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिएका छन् । महामन्त्रीहरूले पार्टीको आधिकारिक दृष्टिकोण बोल्नुपर्छ, मिडियामा जे बिक्छ त्यो बोल्ने होइन भन्ने कुरा उठेको खतिवडाले बताए ।
बैठकमा रमेश रिजाल, राजीव ढुंगाना, केशवकुमार बुढाथोकी, रामजनम चौधरी लगायतका नेताहरूले महामन्त्रीहरूको भूमिका केटौले पाराको भएको र मिडिया तथा सोसल मिडियाको स्टन्टमा रमाएको भन्दै जिम्मेवार भूमिका निर्वाह गर्न सुझाव दिएका थिए ।
केन्द्रीय सदस्य रिजालले महामन्त्रीहरू मिडिया केन्द्रित भएको र ट्वीट गरेर रमाउने गरेको भन्दै अतिवादमा नजान आग्रह गरेका थिए । त्यस्तै अर्का नेता केशव कुमार बुढाथोकीले शेखर कोइारालाहरुलाई पार्टी कार्यालयमै भेला गर्न दिनुपर्ने भन्दै महामन्त्रीहरूले गुटबन्दी गर्ने हो भने आफूहरूले बहिस्कार गर्ने चेतावनी दिए ।
बैठकपछि एक केन्द्रीय सदस्यले भने, ‘दुवै महामन्त्रीको बारेमा चर्को आलोचना भयो । उहाँहरू मिडियामा मात्र केन्द्रित हुने र जे बोल्दा हिरो भइन्छ त्यही बोलिदिने, पार्टीमा पर्गेल्नु नपर्ने भन्ने कुरा उठ्यो । उहाँहरू विदेशमा बस्नेलाई मतदान अधिकार माग्दै निर्वाचन निर्वाचन आयोगमा कसको अनुमतिले जानुभयो ? भन्ने कुरा सिरियसले उठेको छ ।
बैठकमा केन्द्रीय सदस्य राजीव ढुंगानाले पार्टीमा छलफल नगरी कुन निणर्यका आधारमा महामन्त्रीहरूले मिडियाबाजी गरेका छन् ? भन्ने प्रश्न उठाएका थिए । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्तपा डा. प्रकाशशरण महतले पनि महामन्त्रीहरुको भूमिका जिम्मेवारी हुनुपर्ने भन्दै बाहिर मिडियामा बोल्नुभन्दा पहिले पार्टीमा छलफल गर्नुपर्ने बताए ।




