राजनीति

संसदको उपसभामुख र उपाध्यक्षमा महिला नहुनु लाजमर्दो : बामदेव गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले संसदको उपसभामुख र उपाध्यक्षमा महिला नहुनु लाजमर्दो भएको बताएका छन् । उनले महिला ‘माननीय’ (सांसद) हरूले आन्दोलन नै गर्नुपर्ने बेला आएको बताए । राष्ट्रियसभाको मंगलबार बसेको बैठकको विशेष समयमा उनले राष्ट्रियसभामा उपाध्यक्ष र प्रतिनिधिसभामा उपसमाभुख नभएको भन्दै रिक्त दुवै पद पूर्तिका लागि महिला सांसदले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

संविधानमा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पदमा महिला र राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक पदमा महिलाको व्यवस्था सुनिश्चित गरिएको भन्दै उनले हाल राष्ट्रियसभाको अध्यक्षमा पुरुष र प्रतिनिधिसभाको सभामुखमा पनि पुरुष रहेको र महिला नियुक्त गर्नुपर्ने उपाध्यक्ष र उपसभामुख पद भने पूर्ति गर्न कसैले चासो नदेखाएको बताए ।

उनले भने, ‘म संविधान निर्माता पनि हुँ । हक हुन्छ कि मैले निर्माण गरेको संविधानका हरेक विषयमा त्यसको व्याख्या गर्ने अधिकार पाउँछु ।’ उनले राष्ट्रियसभामा उपाध्यक्ष नभएको चार महिना भइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘प्रतिनिधिसभामा लाजमर्दो स्थिति भयो, झण्डै चार वर्षदेखि उपसभामुख छैन,’ उनले भने, ‘पुरुष अनिवार्य भनेको भए पाँच दिनमै त्यो पद पूर्ति हुने थियो ।’

आफूले ज्येष्ठ सदस्य भएको नाताले एउटा समितिको अध्यक्षता गरिरहेको उल्लेख गर्दै उनले राष्ट्रियसभाको चार समितिमध्ये तीन वटामा सभापति नरहेको पनि चार महिनाभन्दा बढी भइसकेको स्मरण गराए । उनले भने, ‘संसद्मा रहेका पार्टीहरू, सरकारले त्यसमा ध्यान दिनुपर्ने हो । महिला माननीयहरूले आन्दोलन नै गर्नुपर्ने जस्तो लागेको छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *