समाचार

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, बीच बाटोमै थन्किए गाडीहरु

बागलुङ । वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ-घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सीमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै थन्किएका छन् भने यात्रुले सास्ती व्यहोरिरहेका छन् । पहिरासँगै ठूला-ठूला रूख सडकमा खसेकाले सडक खुलाउन कठिन भइरहेको छ ।

आज बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए । यो सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रका सातवटा स्थानीय तहमा सडक सम्पर्क टुटेको छ भने लोकमार्गको बाटो भएर रुकुम, रोल्पालगायतका जिल्लाका लागि हिंडेका सवारी बाटोमै रोकिएका छन् ।

त्यस्तै जिल्लाको दक्षिण जोड्ने बागलुङ कुश्मीशेरा सडक पनि पहिराका कारण अवरुद्ध भएको रानाले जानकारी दिए । बागलुङ नगरपालिका-१० दव्ल्याङमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी र सम्बन्धित कार्यालयको पहलमा सडक सञ्चालन गर्ने प्रयास भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *