काठमाडौंँ ।स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारका रूपमा भाग लिएका र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उमेदवारी दिने घोषणा गरेकाहरूले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन् ।
शनिबार ललितपुरमा विशेष भेलाको आयोजना गरी स्वतन्त्र उमेदवारहरूको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरेका हुन् । आउँदो संसदीय निर्वाचनमा पार्टी नै गठन गरेर जाने विषयमा छलफल गर्न भेला गरिएको काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उमेदवार सुमन सायमीले बताए ।
दल ठिक छैन भन्ने जनतामा भ्रम परेको उल्लेख गर्दै त्यस्तो भ्रम हटाउन र संसद्मा कानुन निर्माणका लागि बहुमत आवश्यक पर्ने भएकाले पार्टी गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उमेदवारहरूबीच छलफल सुरु गरिएको उनले बताए ।
उनले भने, “संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँ हो । त्यहाँ बहुमतको कदर हुन्छ । एक व्यक्तिले कानुन बनाउन सक्दैन । त्यसो भएको कारण त्यसमा जाँदा दलको विकल्प दल नै हो । र, त्यसको आवश्कता छ । दल ठिक छैन भन्ने जनतामा रहेको भ्रम हटाउन जरुरी छ । दलको विकल्प दल नै हो ।”
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्रहरूको पनि दल आवश्यक छ भन्ने निष्कर्षका साथ आफू सो भेलामा सहभागी भएको स्वतन्त्र उमेदवार रवीन्द्रकुमार श्रेष्ठले बताए । उनले प्रदेश र संघको निर्वाचनमा अनिवार्य दल आवश्यक पर्ने भएकाले भेलामा छलफल गरेर निष्कर्ष निकाल्ने पनि बताए ।
‘स्वतन्त्र उमेदवारी अभियान’को नाममा आयोजना गरिएको विशेष भेलाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जाँदा नयाँ दल बनाएर जाने निष्कर्ष निकाल्ने बताइएको छ ।




