काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अबका कुनै पनि प्रधानमन्त्री केपी शर्मा ओलीको बाटोमा नहिड्ने दाबी गरेका छन् ।
नरबहादुर कार्माचार्य प्रतिष्ठानले सोमबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा समाजवादः चुनौती र सम्भावना’ गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबका कुनै पनि प्रधानमन्त्रीले संसद विघटन गर्न आँट नगर्ने बताए ।
आफूहरुले बाम-लोकतान्त्रिक गठबन्धन गरेर संविधान बचाएको बताउँदै उनले भने, ‘बाम-लोकतान्त्रिक गठबन्धनको एउटा औचित्य छ । हामीले संविधान बचाएका छौँ । अब संविधानलाई कसैले तलमाथि गर्न सक्छ ? अब कसैले आँट गर्न सक्दैन । यो देशको कुनै कुनै कुनै… प्रधानमन्त्री फेरि म संसद विघटन गर्छु भनेर खड्कप्रसाद शर्मा ओलीको बाटो हिड्नेवाला छैन । हिड्न सक्दैन ।’
नेकपा एमाले अध्यक्ष ओलीले सत्तामा पुगेपछि आफैले बनाएको संविधनलाई कुल्चेकाे बताए । उनले भने, ‘सत्तामा पुगेपछि संविधान च्यातच्युत पार्ने, कुल्चिन थाल्ने, आफ्नो पार्टीको दुईतिहाइ भएका संसद विघटन गर्ने, देशमा निरंकुश शासन थाल्ने अनि समाजवादको यात्रा हुन्छ ? यो त पुँजिवादको यात्रा पनि भएन । त्यसैले बाम-लोकतान्त्रिक गठबन्धन गर्नु परेको हो ।’
सम्मानित नेता खनालले देशमा साजवादका पक्षधर शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताए ।
उनले दासप्रथा, सामन्तवाद र पुँजिवादको अन्त्य भएरै छाड्ने दाबी गरे । उनले भने, ‘यी तीनवटा मात्रै वर्गिय समाजहरु हुन । वर्गिय शोषणका व्यवस्था हुन् । दासप्रथामा दासमालिकहरुले शासन गरे । सामन्तवादमा सामन्तहरुको शासन गरे । पुँजिवादी व्यवस्थामा पुँजिपतिहरुले शासन गरिरहेका छन् । र, यी तीन वटा वर्ग कुनै न कुनै दिन निषेधित हुन्छ । मानव जातिले निषेध गर्छ । यो अनिवार्यक कुरा हो ।’
समाजवाद अनिवार्य आउने उनकाे दाबी छ । ‘समाजवादी कुनै सम्भावनाको कुरा होइन । अनिवार्यताको कुरा हो । समाजवाद आउँछ आउँछ,’ उनले भने, ‘जसरी भोलि घाम झुल्कन अनिवार्य छ । ठिक त्यसरी नै समाजवादी आउन जरुरी छ । समाजवादलाई कुनै धर्तिका तागतले रोक्न सक्दौन । न कुनै एटम बलमले रोक्छ, न त नेपम बमले रोक्छ । न मिसाइलले नै रोक्छ । केहीले पनि रोक्न सक्दैन ।’




