काठमाडौं । संसदमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको छ । तिनदिनसम्म चलेको छलफलमा सत्तारुढ दलका सांसदहरुले बजेटको बचाउ गरेको भएपनि प्रतिपक्षी दल एमाले सांसदहरुले भने बजेटको विरोध गरे ।
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले देशलाई डिजेल, पेट्रोल र एलपी ग्याँसमुक्त बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार संसद्मा एमाले सांसदहरुले दर्ता गराएका जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि भाग लिदै थापाले पेट्रोलियम पदार्थको मुल्यवृद्धिको असर कम गर्न जनतालाई राहत दिन सरकारसँग माग गरेका हुन् ।
पञ्जाबका गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न व्यक्ति नेपाल प्रवेश गरेको आशंकामा भारतीय प्रहरीको स्पेशल टोली नेपाल आएको दाबी गरिएको छ । हत्या प्रकरणमा पक्राउ परेका दुईजनाको बयानका आधारमा सिद्धूलाई गोली हान्ने सुटरसँग जोडिएका व्यक्तिबारे अनुसन्धान गर्न दिल्ली प्रहरीको स्पेशल सेल नेपाल आएको भारतीय सञ्चार संस्था ‘इन्डिया टुडे’ दाबी छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । पार्टीको नवौं महाधिवेशन १ देखि ८ असोजसम्म काठमाडौंमा गर्ने भएको हो । १२ देखि १७ जेठसम्म बसेको नेकपा केन्द्रीय समिति बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले आफ्नो कार्यक्षेत्र नछाड्न सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ । जिल्ला समन्वय समितिको चुनाव नसकिएसम्म कार्य क्षेत्र नछाड्न आयोगले आग्रह गरेको छ ।
सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ४९ लाख बालबालिकालाई खोप दिन लागेको जानकारी दिएका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले विश्वबजारमा पेट्रोलियम पदार्थको चरम अभावका कारण नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको प्रस्ट पारेका छन् । संसद बैठकमा मन्त्री बडुले इन्धन आयातमा नेपाल आयल निगमलाई प्रतिस्पर्धी बनाउन नीजि क्षेत्रलाई समेत आयात गर्ने बाटो खोल्ने तयारी भइरहेको समेत बताए ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । काठमाडौंको फोहर व्यवस्थापनमा समस्या भइरहेका बेला सिसडोलका स्थानीयसँग छलफल गर्न पुगेका उनले ३ महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरु गरेर फोहोर व्यवस्थापन गर्ने समेत बताएका छन् ।
बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सरकारले निर्देशन दिएको छ । सूचना जारी गर्दै तोकिएको समयभित्र तोकिएका सवारीले इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने समेत सरकारले चेतावनी दिएको छ ।
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेसँगै सार्वजनिक यातायातको सवारी भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनु्सार भन्दै यात्रुवाहक सवारीको भाडा २ प्रतिशतले घटाइएको बताएको छ ।
सहिद स्मारक ‘सी’ डिभिजन लिगको उपाधि झापा फुटबल क्लबले हात पारेको छ । शुक्रबार भएको अन्तिम खेलमा स्वयम्भू फुटबल क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि हात पारेको हो ।
युक्रेनमाथि रुसले आक्रमण शुरु गरेको एकसय दिन पुरा भएको छ । युद्ध शुरु भएको एकसयदिन पुरा भएको दिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जित आफ्नै हुने बताएका छन् ।




