सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरको घडीको सुई १० वर्षदेखि घुम्दैन । यहाँ रहेका चार वटै घडीले १०ः५० को समय मात्र देखाउँछन् । विसं २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो कार्यकालको पाँच वर्ष बिताउँदैछन् । उनीहरुले पनि घण्टाघरमा नयाँ घडी राख्न सकेनन् । यस पटकको स्थानीय तह निर्वाचनमा तिनै नेता र उम्मेदवारलाई मतदाताले सोध्ने गरेका छन्, ‘घण्टाघरको सुई कहिले घुम्छ ?’
प्रमुख राजनीतिक दलहरूले आफ्ना प्रतिबद्धतामा ठूल्ठूला आश्वासन देखाए पनि मतदाता भने जिल्लाको पहिचान बनेको पर्यटकीयस्थलमा घण्टाघरमा कम्तीमा घडी चलाउनुपर्ने माग गरिरहेका छन् । वीरेन्द्रनगरमा घरदैलो गरिरहेका दलहरू विशेषगरी नेपाली कांग्रेस, नेकपा (एमाले) , नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारलाई यही प्रश्न मतदाताले दोहोर्याउने गरेका छन् ।
वीरेन्द्रनगर-६ घण्टाघर लाइनका तिलक भण्डारीले सामान्य काम नगर्ने नेताहरूबाट ठूला-ठूला आश्वासन पूरा हुन्छन् भन्ने विश्वास नरहेको बताए । ‘१० वर्षदेखि बन्द रहेको घडी चलाउन सक्ने जनप्रतिनिधि पाएनौं’, उनले भने, ‘यस पटक पनि उम्मेदवारका घोषणापत्रमा यो कुरा उल्लेख भएको रहेनछ, त्यसैले भोट माग्न आउने जतिसँग घण्टाघरले कहिले पुनर्जन्म पाउँछ ? भनेर सोध्न थालेका छौं ।’
वीरेन्द्रनगर-५ को घरदैलोमा आएका रापप्रा नगर प्रमुखका उम्मेदवार मुकुन्दश्याम गिरीलाई पनि मतदाताले यही प्रश्न तेस्र्याए । गिरीले मतदातामाझ आफू निर्वाचित भएलगत्तै नयाँ घडी राख्नुका साथै घण्टाघर क्षेत्रलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । विसं २०६१ मा नगर प्रमुख तथा तत्कालीन लाटीकोइली गाउँपञ्चायतको प्रधानपञ्च भई काम गरिसकेका उनले वीरेन्द्रनगरको गुरुयोजनाबमोजिम काम गर्नुपर्ने बताए ।
भेरी नदीमा पक्की पुल निर्माण सम्पन्नपछि त्यहाँ बचेको निर्माण सामग्रीबाट चीन सरकारले उपहारस्वरुप वीरेन्द्रनगरको मध्यभागमा घण्टाघर बनाइदिएको हो । घण्टाघरबाट सुर्खेत उपत्यका अवलोकन गर्न सकिन्छ । पछिल्ला वर्ष नगरपालिकाले घण्टाघर उद्यानको सञ्चालन तथा व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिए पनि घडी भने परिवर्तन गरिएको छैन । नगरवासीले घण्टाघरको पहिचान गुम्न नदिन कम्तीमा घडी चलायमान गराउनुपर्ने माग राख्दै आएका छन् ।
घण्टाघरको आँगनमा रहेको नगरपालिका कार्यालय र उत्तरपूर्वी क्षेत्रमा अवस्थित प्रदेश सरकार समेत अनदेखा भएको नगरवासीको गुनासो छ । स्थानीय होटल व्यवसायी जनक कार्कीले प्रदेश सरकारले पर्यटनमा बर्सेनि करोडौं बजेट खर्च गरे पनि घण्टाघरमा नयाँ घडी राख्न नसकेर गैरजिम्मेवारपन देखाइरहेको आरोप लगाए ।
राप्रपा नगर प्रमुखका उम्मेदवार गिरी मात्र होइन, यसपटक मतदाताले कांगे्रस र एमाले नगर प्रमुखका उम्मेदवारसमक्ष ठूला-ठूला विकास योजना मागेका छैनन् । मतदाताले घण्टाघरमा नयाँ घडी राख्नुपर्ने, खानेपानीको समस्या चाँडो अन्त्य हुनुपर्ने, सडकका खाल्डाखुल्डी पुर्नुपर्ने, पार्किङ व्यवस्थापन, नगरबस सञ्चालन जस्ता माग राखेका छन् । जबकि मतदाताका अघिल्लो पटक पनि यिनै माग थिए । उम्मेदवारले प्रतिबद्धतापत्रमा अघिल्लोपटक जस्तो यसपाला महत्वाकांक्षी योजना समावेश गरेका छैनन् । नगरवासी मतदातालाई उम्मेदवारले पाँच वर्षको अनुभवका आधारमा स-साना काम पूरा गरेर मात्र ठूला काममा हात हाल्ने वचन दिने गरेका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ वडा छन् । मतदाता सङ्ख्या ६७ हजार छ । वीरेन्द्रनगरको प्रमुख पदका लागि कांग्रेस-माओवादी केन्द्रबाट संयुक्त उम्मेदवार कांगे्रसका उपेन्द्र खड्का, एमालेकी मोहनमाया ढकाल, एकीकृत समाजवादीकी धना शाही, राप्रपाका मुकुन्दश्याम गिरीलगायत चुनावी मैदानमा छन् ।




