समाचार

ठूला दलबाटै आचारसंहिता उल्लंघन : मतदाता प्रभावित पार्न राहत वितरण

भक्तपुर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ठूला राजनीतिक दलबाट व्यापक रुपमा आचारसंहिता उल्लङ्घन भएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यलय र जिल्ला निर्वाचन कार्यालयले आज यहाँ आयोजना गरेको निर्वाचनबारे सञ्चारकर्मीसँगको अन्तरक्रियामा यस्तो बताइएको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनलाई प्रभावित पार्ने गरी मतदातालाई कम्बल र थर्मस बाँडिरहेको जानकारी पाएपछि त्यसलाई प्रहरी पठाएर रोकिएको बताउँदै उनले केही दलले आचारसंहिता विपरीत काम गर्न खोजिएकाले यस्ता कार्यक्रमलाई रोक लगाएको बताए ।

उनले भने, ‘जिल्ला प्रशासन कार्यालयसँग अनुमति नलिइ भक्तपुरको सूर्यविनायक र चाँगुनारायणका केही वडामा मतदातालाई प्रभावित पार्ने गरी कम्बल र थर्मसलगायतका सामग्री बाँड्दै गर्दा हामी तत्कालै पुगेर रोक्यौं, यहीं बीचमा अनुमति लिन आएका करिब २० वटा कार्यक्रमलाई समेत निर्वाचनमा प्रभावित पर्ने देखेर रोक लगाएका छौं, सम्मान र पुरस्कार वितरण जस्ता कार्यक्रमलाई पनि रोक लगाएर चुनावपछि गर्न भनेका छौं, निर्वाचन आचारसंहिता विपरीत दलको गतिविधि समेतलाई रोक लगाउँदै आएका छौं ।’

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले ठूला दलबाटै आचारसंहिता उल्लङ्घन भइरहेको जानकारी दिंदै १९ वटा ठाउँबाट आचारसंहिता उल्लङ्घन गरी राखिएको दलहरुको प्रचार सामग्री हटाएको बताए । जिल्ला प्रशासन कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयका प्रतिनीधिले भक्तपुरमा निर्वाचन आचारसंहित विपरीतका काम भइरहेको जनाउँदै मतदातालाई विभिन्न प्रलोभनमा पारी सामान बाँड्न सुरु गरेको बताए ।

प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘पार्टीका झण्डा, चुनाव चिन्ह, फ्लेक्सलगायतका प्रचार सामग्री १८/१९ ठाउँको हामीले हटाएका छौं, कतिपय ठाउँमा त्यस्ता चुनाव चिन्ह् राखेका दलका स्थानीय नेता कार्यकर्तासँग त कतिपय ठाउँमा जिल्ला तहका नेतासँग कुरा गरेर हटाएका छौं, यस्ता सामग्री राखेर आचारसंहिता उलङ्घन गर्नेमा चुनाबमा रहेको मुख्य ६ दलकै रहेका छन् ।’ प्रचार सामग्री हटाउन ठूला दलहरुले नै अटेर गर्ने गरेको उनको भनाइ छ । गाडीमा पार्टीको झण्डा र चुनाब चिन्ह, ब्यानर राखेर जाने गरेको भन्दै उनले पार्टी आफैले आचारसंहिताको पालना गर्दै आफैले अनुगमन गर्नुपर्नेमा आफैले उलङ्घन गर्ने गरेको उनको गुनासो छ ।

भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले विगतका निर्वाचन भन्दा कर्मचारी आधा कम तर काम धेरै हुँदा कार्यसम्पादनमा चाप परेको बताए । कर्मचारीले खानाको भरमा बिहान ७ बजेदेखि राति ७ बजेसम्म काम गर्नुपरेको उल्लेख गर्दै उनले त्यही कर्मचारीले फेरि अनुगमन पनि जानसक्ने अवस्था अहिले न्यून भएको बताए । उनले भने, ‘हामी यहीं बाटो ओहोरदोहोर गर्दा पनि अनुगमन गरिरहेकै हुन्छौँ, आचारसंहिता रोक्न सकदो प्रयास गरेका छौँ, दलहरुले नै बनाएको आचारसंहिता पालना दलहरुले गर्नुपर्ने हो, राजनीतिक दल, पत्रकार, सचेत नागरिकले आचारसंहिता उल्लङ्घन भएको पाइए जानकारी गराउनुहोस्, हामी तत्काल रोक्छौं, आवश्यक परे कारबाही गर्छौ ।’

यद्यपि काठमाडौंको तुलनामा भक्तपुरमा आचारसंहिता उल्लङ्घन ज्यादै न्यून रहेको दाबी गर्दै उनले त्यसलाई पनि रोक्न सक्दो प्रयास गरिरहेको जानकारी बताए । उनले मत गणनास्थलमा सिसी क्यामरा जडान भइरहेको जानकारी दिँदै मतदानका दिनमा मतदाता परिचयपत्र नभए नागरिकता, सवारी अनुमतिपत्र, लालपूर्जा लगायतका पहिचान खुल्ने कागजले पनि मतदान गर्न पाइने उनले बताए ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले सञ्चार माध्यम र सञ्चारकर्मीले मान्नुपर्ने निर्वाचन आचारसंहिताकाबारेमा जिल्लाका क्रियाशील पत्रकारलाई जानकारी दिएका थिए । कार्यक्रममा क्रियाशील पत्रकार मञ्चका अध्यक्ष एवं पत्रकार रमेश गिरीले निर्वाचनका दिन समाचार, तस्बिर तथा भिडियो सङ्कलनका सहजता प्रदान गर्न, सवारी पासको व्यवस्था गर्न माग गरे । उनले मत गणनास्थलमा सञ्चार कक्षको स्थापना गरेर सहज रुपमा मत गणनाको नतिजा सञ्चारकर्मीलाई उपलब्ध गराउने व्यवस्था गर्न, मत गणनास्थलमा मतपत्र खन्याउँदै गरेको तस्बिर तथा भिडियो लिने व्यवस्था गरिदिन आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *