काठमाडौं । बाँकेको खजुरा गाउँपालिका–२ स्थित एलगाउँबाट करिब १ किलो सुनको गहना सहित एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–१ पिमी बस्ने २८ वर्षीय लोकबहादुर सिंहलाई रहेको प्रहरीले जनाएको छ ।
सिंहको साथबाट भारतको बैंग्लोरबाट चोरेर ल्याएको ८०२ ग्राम ७३ मिलिग्राम सुनका गहना बरामद गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा सिंहलाई चेकजाँच
गर्ने क्रममा सुन फेला परेको थियो ।
बैंग्लोरमा चारजना मिलेर सो सुन चोरेको आरोपीले जानकारी प्रहरीलाई दिएका थिए । चोरीमा दुई जना भारतीय र दुई नेपाली संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुले चोरी गरेको सुन विभिन्न प्रकारका गरगहना बनाएर ल्याएको प्रहरीले जनाएको छ ।