काठमाडौं । दुई महिलामाथि यौन हिंसाको आरोपले लामो समयदेखि पछ्याइरहेका बेला नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेद्वार केशव स्थापित बिहीबार एक कार्यक्रममा आक्रोशित भएका छन् ।
राजधानीमा बिहीबार गरिएको एक अन्तरक्रिया कार्यक्रममा स्थापितलाई महिलामाथि हिंसाबारे केही सहभागीले प्रश्न गरेका थिए । अन्तरक्रियाका कार्यक्रमकी प्रस्तोता भावना राउतले मीटू आरोपबारे सोधेकी थिइन् । त्यसपछि स्थापित आक्रोशित हुँदै मञ्चबाट उठेका थिए ।
उनले आफूमाथि आरोप लगाउनेहरुले कानुनी उपचार नखोजेकोमा पनि आपत्ति प्रकट गरे । ‘ममाथिको आरोप गलत भएको प्रमाणित गरेरै छाड्छु म । यदि आरोपित गर्दै जाने हो भने कसरी सकिन्छ ? आरोप लगाउनेहरुले ममाथि कानुनी चुनौती दिए हुने नि ! उनीहरुले कानुनी उपचार किन खोज्दैनन् ? जे पायो त्यही आरोप लगाई दिने ?’ उनले भने ।
सवाल जवाफका क्रममा वातावरण गर्मिएपछि उनले प्रश्नकर्तामाथि आक्रोश पोखे । उनले मञ्चबाट उठेर भने, ‘तपाईंको फेस नाइस छ, तर थुतुनो ठीक छैन ।’ त्यसअघि राउतले ‘निर्दोष छु भनेर कि प्रमाणित गर्नुस्, प्रमाणित गर्न नसक्ने भए यो ठाउँमा बस्ने नैतिकता राख्नु हुन्छ र ?’, भनेर सोधेकी थिइन् । अहिले स्थापितको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सहभागी एक जना पुरुषले पनि स्थापितमाथि प्रश्न गरेका छन् । आरोप लागिसकेपछि त्यसलाई कि गलत पुष्टि गर्न होइन भने सार्वजनिक पद नताक्न उनले स्थापितलाई चुनौती दिए । २०५४ सालमा काठमाडौं महानगरपालिका प्रमुख भएका उनीमाथि पूर्व कर्मचारी महिलामाथि यौन हिंसा गरेको आरोप छ ।




