समाचार

कांग्रेसका दुई महामन्त्री : विश्वप्रकाश गठबन्धनको पक्षमा, गगन विपक्षमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय चुनावी गठबन्धनको पक्ष र विपक्षमा उभिएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा धारणा राख्दै महामन्त्रीद्वय आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न हुने र नहुने पक्षमा उभिएका हुन् ।

महामन्त्री गगन थापाले गठबन्धन गर्न नहुने बताएका छन् भने अर्को महामन्त्री शर्मा गठबन्धनको पक्षमा देखिएका छन् । शर्माले आवश्यकता अनुसार गठबन्धन गरेर जानु उपयुक्त हुने बताएका छन् । उनले भने, ‘कुनै ठाउँमा एमाले हामीभन्दा ७ हजारले अगाडि छ । अहिले हामीले भोट घटाएर ३ हजारले हार्नुभन्दा ४ हजार मत भएको माओवादीलाई मिलाउँदा फाइदा हुन्छ । गठबन्धन गर्न हुँदैन भन्ने होइन ।’

तर महामन्त्री थापाले गठबन्धन गर्न नहुने बताएका छन् । उनले भने, ‘कम्युनिष्टबाट लोकतन्त्र खतरामा छ भनेर हामीले पटक-पटक भनेका छौँ । कम्युनिष्टहरूलाई मिल्न नदिन गठबन्धन गरेर जाँदा लोकतन्त्रमाथि खतरा हुँदैन भनेर जाने हो ?’
बैठकमा दुवै महामन्त्रीका फरक-फरक धारणा आएका हुन् । जारी काँग्रेसको केन्द्री कमिटीको बैठकमा केन्द्रीय सदस्यहरुले गठबन्धनको पक्ष र विपक्षमा आफ्नो धारणा राखिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *