समाचार

एक अर्ब २५ करोडको लागतमा भरतपुरको फोहोर व्यवस्थापन गरिँदै

काठमाडौँ । चितवनमा कोरियाली सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा भरतपुर महानगरको फोहोर व्यवस्थापन गरिने भएको छ । दुई देशबीच सम्झौता गरी रु एक अर्ब २५ करोड (११.१४ मिलियन अमेरिकी डलर) को लागतमा ल्याण्डफिल्डसाइड निर्माण गर्न लागिएको हो ।

महानगरपालिकामा जनप्रतिनिधि आएसँगै फोहोर व्यवस्थापनका अध्ययन थालिएको थियो । महानगर प्रमुख रेनु दाहालका अनुसार कोरियाली सरकारको सहयोगमा पहिलो चरणमा महानगरको फोहोर व्यवस्थापनको गुरुयोजना तयार गरिएको छ । महानगरको फोहोर व्यवस्थापनका बारेमा विस्तृत अध्ययनपछि प्रतिवेदन तयार गरिएको हो । दुई सरकारबीच ‘जीटुजी’ माध्यमबाट सम्झौता गरी काम अघि बढाउन लागिएको उनले जानकारी दिएका छन् ।

महानगरप्रमुख दाहालले भने, “ कोरियाली सरकार र नेपाल सरकारबीच केही दिनमै सम्झौता गरी काम अघि बढ्छ ।” सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्झौता गर्नुपर्ने हुन्छ । पालिकाले विदेशी सहायता र सहयोग सोझै ल्याउन नपाउने भएकाले मन्त्रालय चरणबाट काम गर्नुपर्दा केही ढिलाइ भएको चर्चा गर्दै उनले थपेका छन्, “केही ढिलो भए पनि भरतपुर महानगरमा आधुनिक वैज्ञानिक ल्याण्डफिल्डसाइड बन्छ ।”

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पूर्ण प्रक्रिया पूरा गरी सम्झौताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइसकेको छ । मन्त्रालयको योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख सहसचिव विष्णुदत्त गौतमले सम्पूर्ण प्रक्रिया पूरा गरी अर्थ मन्त्रालयमा फाइल पठाइएको बताएका छन् । उनले भने, “गएको डिसेम्बरमा काम सम्पन्न गर्ने तयारी थियो, कोभिडका कारण ढिलो भएको हो । केही दिनमा अर्थ मन्त्रालयले प्रक्रिया पूरा गरेर सम्झौता गर्ने भएको छ । ”

कोरियाली सरकारले ल्याण्डफिल्ड साइड निर्माण गरी नेपाली कर्मचारीलाई तालिमसमेत दिएर परियोजना हस्तान्तरण गर्ने सहसचिव गौतमले जानकारी दिएका छन् । यसले महानगरभित्रको सबै फोहोरको व्यवस्थापन गर्छ । उनले थपेका छन्, “केही ढिलाइ भए पनि महत्वपूर्ण काम भएको छ ।” महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले वडा नं ११ को आँपटारीस्थित जलदेवी सामुदायिक वनभित्रको नौ दशमलव नौ हेक्टर जमिनमा आधुनिक ल्याडफिल्डसाइड बन्ने बताएका छन् । सो ठाउँमा ल्याण्डफिल्ड साइड बनाउन सोधभर्ना जग्गा महानगरपालिकाले माडी नगरपालिका–१ मा खरिद गरिसकेको छ । यहाँ उपयोग गर्ने जग्गाभन्दा केही बढी जग्गा खरिद गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *