देश

आईसीयूमा अन्तर्वार्ता लिने प्रवृत्तिमाथि संसद्मै उठ्यो प्रश्न

काठमाडौं । अस्पतालको सघन उपचार कक्ष (आईसीयू) भित्रै अन्तर्वार्ता लिइएको विषय प्रतिनिधि सभामा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद समीक्षा बाँस्कोटाले आईसीयूजस्तो संवेदनशील स्थानमा अन्तर्वार्ता लिने र त्यसका लागि अनुमति दिने दुवै पक्षको नैतिकतामाथि प्रश्न उठाएकी हुन्।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद बाँस्कोटाले आईसीयू अत्यन्त जटिल अवस्थामा रहेका बिरामीको उपचार गरिने विशेष कक्ष भएकाले त्यहाँ बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने बताइन्। उनले उपचारका क्रममा रहेका बिरामी भएको स्थानमा अन्तर्वार्ता लिने कार्य कति उचित र नैतिक हो भन्ने प्रश्न गर्दै यसलाई सामान्य रूपमा लिन नहुने धारणा राखिन्।

बाँस्कोटाले मानिसको जीवनभन्दा कुनै पनि अन्तर्वार्ता, सामग्री वा भ्युज ठूलो हुन नसक्ने बताउँदै स्वास्थ्य संस्थाभित्र बिरामीको संवेदनशीलतालाई बेवास्ता गरेर सामग्री उत्पादन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइन्। ‘भ्युज’ र टीआरपीका लागि बिरामीको संवेदनशीलता प्रयोग गर्ने काम स्वीकार्य हुन सक्दैन भन्दै उनले मानव जीवनलाई सामग्रीको मूल्यमा तौलिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताइन्।

यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उनले अस्पतालमा उपचाररत बिरामीलाई अनावश्यक हैरानी र जोखिमबाट जोगाउन स्पष्ट स्वास्थ्य प्रोटोकल आवश्यक रहेको बताइन्। सांसद बाँस्कोटाले मेडिकल नेग्लिजेन्ससँग सम्बन्धित विभिन्न पक्षलाई समेटेर ‘मेडिकल नेग्लिजेन्स ऐन’ तत्काल ल्याउनुपर्ने मागसमेत गरिन्। साथै, आईसीयूजस्ता संवेदनशील कक्षमा बिरामीको सुरक्षा, गोपनीयता र उपचारको वातावरण कसरी कायम गर्ने भन्नेबारे स्पष्ट मापदण्ड बनाउन सरकारसँग आग्रह गरिन्।

उनका अनुसार स्वास्थ्य उपचारको संवेदनशीलतालाई प्राथमिकतामा राख्दै अस्पतालभित्र सञ्चारमाध्यम, सामग्री निर्माण तथा अन्य गतिविधिका लागि आवश्यक आचारसंहिता र प्रोटोकल स्पष्ट हुन आवश्यक छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *