समाचार

न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिएसम्म बिचौलिया पाल्ने काम रोकिँदैन :अध्यक्ष श्रेष्ठ

काठमाडौं ।नेपाल बार एसाेसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने बताएका छन्। आइतबार बारको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिएसम्म बिचौलिया पाल्ने काम नरोकिने बताएका हुन्।

न्यायपरिषदबाट न्यायाधीशहरूलाई सरुवा काजमा पठाउने अधिकार अझै पनि प्रधानन्यायाधीशले लिइराखेको र सोही अधिकारमार्फत प्रधानन्यायाधीशले आफूअनुकूलको काम गर्न सक्ने श्रेष्ठको आशंका छ। गोलाप्रथा लागू हुनासाथ प्रधानन्यायाधीशको दाह्रा, नंग्रा गयो भन्ने भ्रममा नपर्न पनि उनको आग्रह गरे।

‘बिचौलियाहरूलाई पाल्ने काम न्याय प्रशासनको, न्यायपरिषदबाट न्यायाधीशहरूलाई सरुवा काजमा पठाउने अधिकार अहिले पनि प्रधानन्यायाधीशले लिइराखेको छ, कानुनविपरीत। त्यो नखोसिएसम्म प्रधानन्यायाधीश त ढुक्क भएर बस्ला, उसले खान पाउने तरिका त अर्को छँदै छ,’ उनले भने, ‘उसलाई न्याय प्रशासनबाट पनि जबसम्म खोसिँदैन तबसम्म हामीले गोला प्रणालीको आधारबाट अब नंग्रा त गयो उसको, दाह्रा गयो भनेर मात्रै सुख पाउने अवस्था छैन। अर्को चपाउने दाँत छ। सरुवा काजमार्फत न्यायाधीशहरूलाई थर्काउने काम भइराखेको हुन्छ।’

अध्यक्ष श्रेष्ठले चोलेन्द्रशमशेर जबरा पदबाट नहटेसम्म आन्दोलन जारी रहने भन्दै आगामी दिनमा जबराको विरुद्धमा राजनीतिक दल कहाँ र संसदमा पनि जाने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *