सल्यान । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका १२ जनामध्ये १० जनाको सनाखत भएको छ ।
दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आइतबार बिहान दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ की ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका–३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका–१ काभ्राकी २४ वर्षीया मीना शाही रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
त्यस्तै दाङको बबई गाउँपालिका–४ की ६० वर्षीया डुली रेउले, सोही गाउँपालिका–६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, सल्यानको छत्रेश्वरी गाउँपालिका–२ का २९ वर्षीय तिलक ओली, दाङ शान्तिनगर गाउँपालिका–८ की ३५ वर्षीया सावित्रा केसी र दाङ कोरवाङकी पाँच वर्षीय सुरज ओली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बसमा ३७ जना सवार रहेको र घाइतेमध्ये १३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज रिफर गरिएको छ ।




