चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताएका छन् ।
भरतपुर विमानस्थलमा साेमबार बिहान पत्रकारसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी तिनीहरुको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताएका हुन् । उनले भने, “सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो ।”
आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उनले सुकुम्बासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले थपे, “वास्तविक सुकुम्बासी पहिचान गराैँ, तितरवितर पार्नु समस्याको समाधान होइन । गोली चलाउनु गलत छ । लोकतन्त्रमा गोली चलाउन वर्जित छ ।”
आइतबार रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको थियो भने झडपमा परी कैयौँ घाइते भएका छन् । जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए । करिब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । विसं २०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो ।




