काठमाडौं।सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतसहित नेताहरु भारत भ्रमणमा जान लागेका छन् ।
पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका महतसहित कांग्रेस नेताहरु उदयशमशेर राणा र अजय चौरासिया बिहीवार दिल्ली जाने भएका छन् ।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) विदेश विभागको निमन्त्रणामा आफूहरु दिल्ली जाने कार्यक्रम तय भएको केन्द्रीय सदस्य चौरासियाले बताएका छन् ।
कांग्रेसका नेताहरु बिहीवारदेखि ४ दिनसम्म राजधानी नयाँदिल्लीमा रहने भएका छन् ।
चौरासियाका अनुसार असोज २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । २ देश र २ पार्टीबीच सम्बन्ध थप मजबुत बनाउन भ्रमण गर्न लागिएको कांग्रेसले जानकारी दिएको छ ।
नयाँदिल्लीमा रहँदा क–कसलाई भेट गर्ने भन्ने यकिन भई नसकेको चौरासियाले बताएका छन् । यसअघि सहमहामन्त्री महतको निमन्त्रणामा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरेका थिए ।




