भक्तपुर । आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको आज अन्तिम दिन भक्तपुरको पोटरीस्क्वायरस्थित तालाक्वो ज्याठा गणेश मन्दिर अगाडि उठाइएको हात नभएको लिङ्गो ढालिएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीयले भक्तपुरको कुमालेटोलस्थित तालाक्वोमा हात नभएको लिङ्गो उठाएर जात्रा गर्दै अन्तिम दिन आज विधिपूर्वक पूजा गरी ढालेपछि भैरवको रथ तान्ने प्रक्रिया सुरु हुने गर्दछ ।
गुठी संस्थान कार्यालयका प्रमुख आनन्द कर्माचार्यले तालाक्वोमा चैत मसान्तमा उठाएको हात नभएको लिङ्गो आज ढालिएको जानकारी दिँदै आज अपराह्नबाट पूजा सम्पन्न गरी भैरवको रथ तान्न सुरु हुने र आजैदेखि जात्रा सम्पन्न हुने परम्परा रहेको जानकारी दिए।
बिस्केटजात्राका अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने परम्परा छ । तालाक्वोमा लिङ्गो ढालिएपछि आजै भैरव र भद्रकालीको पूजा गरी रथलाई गहिटीबाट तान्ने गरिन्छ ।
त्यसैगरी, मध्यपुरथिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि चैत ३० गते अर्थात् मसान्तको दिन उठाएको लिङ्गो पनि आज १०ः०० बजे ढालिएको छ ।
महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएपछि थिमिको सम्पूर्ण जात्रा सुरु हुने परम्परा रहेको जानकारी दिँदै स्थानीय दिलकृष्ण प्रजापतिले आज लिङ्गो ढालिएसँगै जात्रा सम्पन्न भएको जानकारी दिए । यसअघि भेलुखेलस्थित ल्यासिंखेलमा चैत मसान्तमा उठाउने लिङ्गो वैशाख २ गते ढालिएको थियो ।




