काठमाडौं । बुद्ध एयरको सोमबार ल्यान्डिङ गियरमा समस्या देखिएको भनिएको जहाजले मंगलबार उडान भरेको छ ।
सोमबार ल्यान्डिङ गियर समस्या आएको भन्दै जहाज विराटनगर अवतरण नगरी काठमाडौँ फर्किएर करिब दुई घण्टा आकाशमा होल्ड भएको थियो ।
सोमबार विहान सवा १० बजे सकुशल अवतरण गरिएको सो जहाज २४ घण्टा नपुग्दै पुनः उडान गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले विमानमा कुनै समस्या नदेखिएको प्राविधिकहरुले जानकारी गराएपछि उडान शुरु गरेको बताएका छन् ।
तर सोमबारको घटनापछि प्रधिकरण र बुद्ध एयर दुवैले अलग अलग समिति गठन गरेका थिए । अहिले ति समितिले प्रतिवेदन नै नदिइ जहाज उडाइएकोले बुद्ध एयरले सुरक्षामा हेलचेक्राई गरेको आरोप लगाइएको छ ।
प्राधिकरण उच्च स्रोतले छानबिन गर्न समिति गठन भैसकेको अवस्थामा त्यसको निष्कर्ष आएपछि मात्र जहाज उठाउनु पर्ने बताए ।




