काठमाडौं । कोरोना संक्रमण बढेर दैनिक २८ प्रतिशत पुगेपछि सर्वोच्च अदालतले शुक्रबारबाट पूर्णरुपमा आफ्ना सेवा दिने भएको छ ।
तीन महिनाअघि कोरोना महामारीका कारण सेवा संकुचित गरेको सर्वोच्चले सबै प्रकारका सेवाहरु नियमित रुपमा सञ्चालन गर्ने भएको हो ।
साउन १ मा पूर्ण बैठकको निर्णयबारे जानकारी गराउन प्रकाशित विज्ञप्तिमा साउन १५ गतेबाट नियमित सेवा दिइने उल्लेख थियो ।
‘..सर्वोच्च अदालतबाट सम्पादन हुने काम कारवाही र सेवा प्रवाहका सम्बन्धमा मिति २०७८/०१/१४ तथा तत्पश्चात् विभिन्न मितिमा बसेको पूर्ण बैठकबाट आवश्यक निर्णयहरु भइ सो अनुरुपको व्यवस्थापन हुँदै आएकोमा २०७८/०४/१५ देखि स्वास्थ्य सुरक्षासम्बन्धी निर्धारित सम्पूर्ण मापदण्डहरुको पूर्णपालना हुनेगरी यस अदालतबाट प्रवाह गरिने सबैप्रकारका (दर्ता र सुनुवाइसम्बन्धि) सेवाहरु नियमित रुपमा सञ्चालन गर्ने,’ पूर्णबैठकबाट भएको निर्णयबारे जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
अदालतले सेवा संकुचन गरेको अवधिभित्रका हदम्याद, म्याद र तारेख नगुज्रने भएका छन् । सर्वोच्चसँगै उच्च, विशेष र जिल्ला अदालतहरुले पनि संक्रमण फैलन नदिन विभिन्न किसिमका सेवा बन्द गरेका थिए ।




