काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आइतबार बिहान वीर अस्पतालको नवनिर्मित भवनमा बनाइएको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको उदघाटन गरेका छन् ।
निर्माण सम्पन्न भएको लामो समयपछि आज भवनको उद्घाटन गरिएको हो । सो भवनमा यसअघिदेखि नै कोरोना संक्रमितको उपचार भइरहेको थियो । आजबाटै वीर अस्पतालमा बनाइएको १०० शैय्याको आइसीयू पनि सञ्चालनमा ल्याइएको छ । वीरको नवनिर्मित सर्जिकल भवन १७ रोपनी क्षेत्रफलमा फैलिएको छ भने ७५० शैय्या रहने बताइएको छ ।
प्रधानमन्त्री ओलीले सन् २०२१ भित्रै सबै नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताए । अब निरन्तर रूपमा खोप आउने पुस–माघभित्रै सबै नागरिकले पाइसक्ने उनको दाबी थियो । यसअघि उनले तीन महिनामै खोप लगाइसक्ने बताएका थिए ।




