काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको नगरसभा बैठक बहिष्कार गरेको छ । नगर उपप्रमुख हरिप्रभा खड्कीले नगर सभा बैठक बहिस्कार गरेकी हुन् ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यले तयार पारेको नीति तथा कार्यक्रमप्रति चित्त नबुझेको भन्दै उनले नगर सभा बहिस्कार गरेकी हुन् । महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न बिहीबार ११ बजे नगर सभा बैठक बोलाइएको थियो । तर नीति तथा कार्यक्रम एकैचोटि नगर कार्यपालिकाको बैठकमा ल्याएर सुनाएको र सुधार गर्ने अवसरसमेत नदिएको कारण सभा बहिष्कार गरेको उनले बताइन् ।
आफूसँग कुनै पनि सल्लाह नै नगरी नीति तथा कार्यक्रम ल्याएपछि नगरसभा बैठक बहिस्कार गर्नुपरेको उनको भनाइ छ । उपप्रमुख खड्गीसँगै वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले पनि नगरसभा बैठक बहिष्कार गरेका छन् । कांग्रेसको बहिष्कारसँगै प्रमुख शाक्य संकटमा परेका छन् ।




