समाचार

नेपालमा देशभरि संक्रमण दर घट्दा १० जिल्लामा किन बढ्यो ?

काठमाडौं । नेपालमा केही दिनयता कोरोना संक्रमितहरूको संख्या ओरालो लागेको देखिएको छ । परीक्षणको दायरा खुम्च्याएकाले पनि यस्तो देखिएको हुन सक्छ । तर, पनि १० जिल्लामा संक्रमण दर बढ्दो क्रममा रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

पछिल्ला दुई सातामा उदयपुर, पाँचथर, तेह्रथुम, नवलपरासी पूर्व, रोल्पा, हुम्ला, जुम्ला, रुकुम पश्चिम, डोटी र दैलेखमा संक्रमित बढ्ने क्रममा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, ‘थोरै सङ्ख्यामा भए पनि धेरै ठाउँमा सङ्क्रमितहरू रहिरहे भने त्यो अवस्थासमेत नियन्त्रणका लागि कठिन हुन्छ।’

केही जिल्लामा संक्रमण बढ्दो क्रममा रहनु र संक्रमित पहिचान दरसमेत २० प्रतिशत हाराहारीमा उच्च रहनुले अवस्था सहज हुन अझै केही साता लाग्ने डा. अधिकारी बताउँछन् ।

यस्तो अवस्था देखिनु पछाडिको यकिन कारण एकैखाले नभएको स्वास्थ्य अधिकारीहरू बताउँछन्। नेपालका अधिकांश भागमा झण्डै डेढ महिनादेखि लगाइएको निषेधाज्ञाले लगाइंदा धेरै मानिसहरूको बसोबास भएका सहरी भेगमा त्यसको राम्रोसँग पालना हुँदा सङ्क्रमितको संख्या घट्दो क्रममा पाइएको अधिकारीहरूको मत छ।

तर विकट, दुर्गम भेगमा कडिकडाउका अभावमा त्यसो हुन नसक्दाको एउटा झल्को ती जिल्लाहरूको बढ्दो क्रमलाई लिन सकिने उनीहरूको मत छ। दश परीक्षणमा चार सङ्क्रमित फेला परिरहेका जिल्लाहरू परेको कर्णाली प्रदेशका स्वास्थ्य निर्देशकले त्यसलाई ‘अन्यत्रभन्दा धेरै फरक रूपमा नबुझीकन परीक्षण बढ्दाको असर’ का रूपमा बुझ्नुपर्ने स्वास्थ्यविद्हरू बताउँछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *