काठमाडौं । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा नयाँ सरकार बनाउन आवश्यक पर्ने गठबन्धन र सरकारलाई दिएको समर्थनलगायबारे छलफल हुने नेताहरुले बताएका छन् ।
सर्वोच्चको फैसलाले ब्युँतिएको माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार गठन गर्ने कसर गरिरहेको भए पनि त्यो सफल हुन सकिरहेको छैन ।
पटक–पटक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल भए पनि अहिलेसम्म निष्कर्षमा पुगेको छैन । नयाँ सत्ता गठबन्धनबारे स्पष्ट आधार तयार नभएको भन्दै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता लिएको छैन ।
सरकार गठनका लागि नयाँ गठबन्धन पनि बनाउन नसक्ने, सरकारमाथि आरोप थोपर्ने अनि सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिएको भन्दै माओवादी केन्द्र आलोचित बन्दै आएको छ । आफ्नै पार्टीका नेतालाई प्रधानमन्त्री केपी ओलीले चोरेर लगेपछि प्रचण्ड भाउन्न बनेका छन् ।
सर्वोच्च अदालतको फैसलाअनुसार एमाले र माओवादी केन्द्र अलग अलग भएको दुई साता बितिसकेको छ । तर, अहिलेसम्म प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने माओवादी केन्द्रले निर्णय नगरेको भन्दै अन्य दलले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका हुन् ।
ओलीलाई तत्काल सत्ताच्युत गर्न कस्सिएका पुष्पकमल दाहाल प्रचण्ड अहिले निरीह बनेका छन् । न त उनले ओलीलाई दिएको समर्थन फिर्ता लिएका छन्, न त नयाँ समीकरण नै बनाउन सकेका छन् । आजको बैठकमा यस विषयमा छलफल हुने बताइएको छ ।




