देश

‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौँ। नेपालका प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री एवं नेकपा (एमाले)का पूर्वअध्यक्ष मनमोहन अधिकारीको आज २७औँ स्मृति दिवस मनाइएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरको सानेपास्थित उनको शालिकमा माल्यार्पणसहित सभा आयोजना गरेको थियो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिकारीलाई अविचलित निष्ठाको प्रतीकका रूपमा चित्रण गरे । उनले प्रतिष्ठानलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने दिवंगत व्यक्तित्वको स्मरण गर्दै प्रतिष्ठानका पूर्वसचिव हरिप्रसाद शर्मा काफ्ले, गोविन्द गजुरेल, डा. गोविन्द थापा र लक्ष्मीदास मानन्धरको योगदानले नै मनमोहन अधिकारीको विचारलाई संस्थागत गर्न मद्दत पुगेको बताए ।

नेता पोखरेलले अधिकारी नेकपा स्थापना हुनुभन्दाअघिदेखि नै आन्दोलनमा सक्रिय रहेको उल्लेख गर्दै भारतमा रहँदा भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी भई उनले जेलजीवनसमेत बिताएका स्मरण गरे ।

कार्यक्रममा एमाले नेता प्रदीपकुमार ज्ञवालीले पछिल्लो समय राजनीतिमा केही पुस्ताको नाममा अतिवादी सोच हाबी भएको बताउँदै परिपक्व नेतृत्वको मार्गदर्शन र युवा ऊर्जाको संयोजनबाट मात्र देश बन्ने बताए । उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई इतिहासमा नै ठूलो धक्का लागेको धारणा राखे ।

त्यस अवसरमा वक्ताहरूले पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता भएको भन्दै उनको योगदानको चर्चा गरेका थिए ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *