देश

जेनजी नागरिक अभियानद्वारा पेट्रोलियम मूल्य घटाउन ५ बुँदे मागसहित आयल निगमलाई ज्ञापनपत्र

काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै नेपाल आयल निगमलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ ।

सोमबार अभियानका प्रतिनिधिहरू निगमको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

यसअघि शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सो संगठनले २४ घण्टाभित्र मूल्य नघटाए आयल निगम घेर्ने चेतावनी दिएको थियो ।

अभियानका प्रवक्ता वीरजंग विश्वकर्माले इन्डियन आयल कर्पोरेशन (IOC) बाट खरिद हुने पेट्रोलियम पदार्थको मूल्य निर्धारण प्रक्रियामा पारदर्शिता नभएको आरोप लगाउँदै खरिद मूल्य, कर संरचना र मूल्य सूची सार्वजनिक गर्न माग गरे ।

उनका अनुसार मूल्य स्थिरीकरणका लागि उपलब्ध कोष तत्काल प्रयोग गरी उपभोक्तालाई राहत दिनुपर्ने, प्रशासनिक खर्च कटौती गर्दै कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणका लागि कडा अनुगमन गर्नुपर्ने तथा हालको आर्थिक संकट अन्त्य नभएसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोक्नुपर्ने अभियानको माग छ ।

उनले सरकारले इन्धनमा कर तथा भन्सार छुट दिने निर्णय गरे पनि त्यसको लाभ उपभोक्तासम्म नपुगेको दाबी गरे ।

निगमको कार्यालयमा पुगेका अभियन्ताहरूले केहीबेर नाराबाजीसमेत गरेका थिए भने प्रहरीले अवस्था नियन्त्रणमा लिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *