काठमाडौं । काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा ५२ अर्बभन्दा बढीको ठेक्कामा अनियमितता भएको पाइएपछि प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले अध्ययन गर्ने भएको छ ।
समितिले विद्यमान अवस्था, कामको गुणस्तर, समस्यालगायत समग्र पक्ष अध्ययन गर्ने गरि विकास तथा प्रविधि समितिले उपसमिति गठन गरेको हो ।
द्रुतमार्ग ठेक्कामा अनियमितता भएको, निर्माणका क्रममा अवरोध भएको, आयोजनाले विविध प्राविधिक कमजोरी गरेको प्रश्न उठेपछि यथार्थ विवरण पत्ता लगाउन उपसमिति बनाइएको हो ।सांसद गणेश पहाडीको संयोजकत्वमा गठित उपसमितिमा जीपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा, केदार सिग्देल सदस्य छन् ।
बुङमति खोकना समस्या, रेलवे क्रसिङलगायत समस्याका विविध पाटो अध्ययन गरी समयमै द्रुतमार्ग बनाउने काममा सहजीकरण गर्ने गरी उपसमिति गठन गरिएको छ। उपसमितिले विज्ञ तथा प्राविधिकसँग छलफल गरेर द्रुतमार्ग निर्माणमा समस्या निवारण, उठेका प्रश्न तथा अनियमितताबारे अध्ययन गर्नेछ ।




