समाचार

कोरोना भाइरसविरुद्धको खोप ल्याउन निजी क्षेत्रलाई अनुमति दिने सरकारको तयारी

काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको खोप ल्याउन निजी क्षेत्रलाई समेत अनुमति दिने तयारी गरेको छ । छिटो खोप ल्याउन सरकारसँगै निजी क्षेत्रलाई पनि अनुमति दिने तयारीमा सरकार लागेको हो ।

प्रधानमन्त्री केपी ओलीले निजी क्षेत्रलाई समेत खोप ल्याउने अनुमति दिन लागिएको जानकारी दिएका हुन् । नेपाल स्काउटको कार्यक्रममा बोल्दै उनले भने, ‘चाँडो खोप ल्याउन र सबैको पहुँचमा पूर्याउन निजीलाई पनि खोप ल्याउन दिने तयारीमा छौ ।’

उनले सरकारले जतिसक्दो चाँडो खोप ल्याउन सरकार सक्रिय रहेको बताउँदै निजी क्षेत्रलाई पनि खोप ल्याउन सहभागी गराउने सरकारको तयारी रहेको बताए ।

सरकारले चाँडो खोप ल्याउने भने पनि कहिलेसम्ममा खोप आउँछ यकिन भइसकेको छैन। सरकारी तयारी हेर्दा यो वर्षभित्र पनि नेपालमा खोप आउन मुस्किल देखिन्छ । खोप आए पनि सर्वसाधारणले कहिले पाउने त्यो नि यकिन छैन । खोप आएमा सबैभन्दा पहिला फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र उच्च जोखिमको उमेर समूहकालाई दिने तयारी छ । त्यसपछि मात्र सर्वसाधारणले खोप पाउने छन् ।

प्रधानमन्त्री ओलीका अनुसार अब सरकार विश्व स्वास्थ्य संगठनबाट पाउने कोभ्याक्स भ्याक्सिन कुरेर नबस्ने नीतिमा पुगेको छ। संगठनलाई कुरेर बस्दा ढिला हुने भएकाले सरकार आफैले किन्ने र निजीलाई पनि अनुमति दिने तयारी गरेको हो ।

उनले सकेसम्म छिमेकी देशमा बनेको र परीक्षण सफल भएको भ्याक्सिनमा जोड दिने बताए ।
प्रधानमन्त्रीका अनुसार चीन र भारतमा बन्ने खोप नेपालको पहिलो प्राथमिकतामा रहेको देखिन्छ । मन्त्रिपरिषद्ले जनसंख्याको ७२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप दिने र त्यसकालागि चाहिने ४८ अर्ब दातृनिकायबाट जुटाउने निर्णय गरिसकेको छ । तर कुन खोप ल्याउने यकिन छैन ।

स्वास्थ्य मन्त्रालय विश्व स्वास्थ्य संंगठन, गाभी र सेपी नामक संस्था मिलेर बनाएको ‘कोभ्याक्स’ भ्याक्सिन ल्याउने तयारीमा देखिन्छ । मोडर्ना, फाइजर, अस्ट्राजेनेका भ्याक्सिन तेस्रो चरणको क्लिनिकल ट्रायलमा ९० प्रतिशत प्रभावकारी देखिए पनि सरकारले निर्णय भने गरिसकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *