काठमाडौं । नेपाली कांग्रेस समर्थित सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) मा ई. उमेश थानी प्यानल विजयी भएको छ । थानीले ई. ध्रुव थापालाई १५० मत अन्तरले पराजित गर्दै छैंटौं अध्यक्ष बनेका हुन् ।
थानी शेरबहादुर देउवा र थापा रामचन्द्र पौडेल पक्षबाट उठेका थिए । १८ सदस्यीय कार्यसमितिका लागि थानी र थापा प्यानलसहित निर्वाचनमा होमिएका थिए । थानीको पक्षमा काठमाडौं केन्द्रबाट एक हजार ४२ र थापाको पक्षमा ९०९ मत परेको छ ।
शनिबार भएको निर्वाचनमा कुल दुई हजार आठ मत खसेको थियो । बागमती प्रदेशको निर्वाचन केन्द्र काठमाडौंमा एक हजार ६६४ र काठमाडौंबाहिरका अन्य ६ मतदान केन्द्रमा ३४४ मत खसेको थियो ।
थानी नेपाल विद्युत प्राधिकरणका पूर्वबोर्ड सदस्य, नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्वमहासचिव र नेपाल इन्जिनियरिङ्ग काउन्सिलको पूर्वजिस्ट्रारसमेत हुन् ।





