पर्वत।वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सिँचाइ नहर मर्मत नहुँदा धानखेतीको पकेट क्षेत्रका रूपमा रहेको पर्वतको फलेवासका किसान मर्कामा परेका छन् । फलेवास नगरपालिका–४, ५ र ६ का किसानले सिँचाइका लागि ४० वर्षदेखि प्रयोग गर्दै आएका उक्त सिँचाइ नहर मर्मत नहुँदा समस्यामा परेका हुन् ।
विसं २०४१ मा निर्माण भएको नहर हालसम्म मर्मत नभएको स्थानीय बताउँछन् । सात किलोमिटर लामो नहर फलेवास र माटेदवल गरी दुई शाखामा विभाजन गरिएको छ । शाखा नहर पनि मर्मत नहुँदा जीर्ण अवस्थामा पुगेको किसानको गुनासो छ ।
नहरबाट करिब एक हजार १०० परिवार लाभान्वित हुँदै आएका फलेवास–६ देविस्थानका कृषक ओमप्रसाद भुसालले जानकारी दिए । धान, आलु, गहुँ, तोरी, फापर, जौलगायत विभिन्न खाद्यान्न बाली उत्पादन हुँदै आएको उनले बताए। उक्त नहरबाट २९६ हेक्टर जमिनमा सिँचाइ हुँदै आएको छ ।
लमायखोलाको मुहानबाट सुरु हुने फलेवास सिँचाइ नहर जिल्लाको सबैभन्दा ठूलो र लामो नहरका रूपमा चिनिने फलेवास जल उपभोक्ता समितिका सचिव किशोर रेग्मीले जानकारी दिए ।
नहर मर्मत नहुँदा हिउँदे सिँचाइ ठप्प बनेको छ भने वर्षायाममा धानको बीउ राख्न र रोपाइँ गर्न समस्या हुँदै आएको किसान भुसालले गुनासो गरे । नहर मर्मतका लागि कुनैपनि निकायवाट पहल नभएको उनको भनाइ छ ।
‘सिँचाइ नहर मर्मत नहुँदा पानी पाइँदैन, खेतबारीमा उब्जनी पनि घट्दै गएको छ । कतिपय खेत बाँझै राख्नुपर्ने अवस्था छ । बर्खामा खेती गर्ने ठाउँमा नहर नबन्दा हिउँदमा खेती गर्न पाइएको छैन । हरेक वर्ष पहिरो पन्छाउँदै नहर सफा गर्दै पानी ल्याउनुपर्ने बाध्यता छ’, उनले भने।
पछिल्लो समय जीर्ण नह् मर्मत नहुँदा समस्या झन् जटिल बन्दै जाँदा बर्सेनि पहिरोको जोखिम पनि बढाएको किसान रमेश चापागाईंले बताए। वर्षायाम सुरु भएसँगै नहरका विभिन्न स्थानमा पहिरो खस्ने र संरचना भत्किने क्रम दोहोरिने गरेकाले सरोकार भएका निकायले तत्काल समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए । किसानले सामान्य मर्मत गरेर प्रयोग गरे पनि केही समयपछि पुनः बिग्रने भएकाले समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको उनको भनाइ छ ।
तीनै तहका सरकारको बेवास्ताका कारण उर्बरभूमि बाँझो हुँदै गएको चापागाईंले बताए। एकातिर पानीको स्रोत सुक्ने, अर्कोतर्फ नहर मर्मत नहुने कारणले किसानको खेतीपातीतर्फ आकर्षण घट्दै गएको चापागाईंले धारणा राखे। नहर सुधारका लागि बर्सेनि बजेट आउने गरेको भन्दै उनले त्यो अत्यन्त न्यून हुने गरेकाले दीर्घकालीन समाधान भने हुन नसकेको बताए।
फलेवास जल उपभोक्ता समितिका सचिव रेग्मीका अनुसार नहर मर्मतका लागि आवश्यक बजेट नहुँदा समस्या झन् जटिल बन्दै गएको छ । गत आर्थिक वर्ष २०८१-०८२ मा नहर मर्मतका लागि ७० लाख बजेट आएको जनाउँदै उनले यस वर्ष घटेर १० लाखमा सीमित भएको बताए।
‘गत वर्ष आएको बजेटले करिब ३०० थान ग्यावियन जाली भर्ने र ४५ मिटर वाल लगाउने काम ग¥यौँ, तर त्यो पनि पर्याप्त भएन । अझै थप काम गर्नुपर्ने देखिएको छ’, रेग्मीले भने। उनका अनुसार यस वर्ष आएको रु १० लाखबाट देवीस्थानस्थित नगर अस्पताल नजिकको शाखा नहरमा मेसिनरी वाल लगाउने तयारी गरिएको छ ।
नहरलाई दीर्घकालीन रूपमा सुधार गर्न कम्तीमा तीन करोड आवश्यक पर्ने समितिका सचिव रेग्मीले अनुमान गरे। ‘त्यो रकम उपलब्ध भए अझै करिब पाँच किलोमिटर नहर आरसिसी गर्न पाएमा सिँचाइ तथा पहिरोको समस्या कम हुने थियो’, उनले भने।
हाल मुख्य नहरका स्लेपहरू जीर्ण भइसकेका छन् भने शाखा नहरहरूको अवस्था पनि उस्तै छ । माटोको कुलो भएकाले पानी चुहिने समस्या बढ्दै गएको छ । उपभोक्ता समितिका सदस्य दुर्गादत्त तिवारीले नहर मर्मत तथा व्यवस्थापनमा नगरपालिका र प्रदेश सरकारले विशेष पहलसहित समस्या समाधान गर्नुपर्नेमा जोड दिए । दीर्घकालीन रूपमा समस्या समाधान नहुँदा स्थानीय किसान प्रत्यक्ष मारमा परेका उनको भनाइ छ ।
तिवारीका अनुसार किसानले दीर्घकालीन समाधानका लागि पक्की नहर निर्माण, पहिरो नियन्त्रणका ठोस उपाय, पानीका स्रोतको संरक्षण तथा पर्याप्त बजेट विनियोजन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । सिँचाइको समस्या समाधान नहुँदा कृषिमा निर्भर अधिकांश किसान प्रत्यक्ष मारमा परेका हुन् ।




