काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी दर्ता हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
श्रेष्ठले आइतवार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्रीमण्ड विस्तारबारे शीर्ष नेताहरूबीच पहिल्यै समझदारी बनिसकेको समेत दाबी गरेका छन् । ‘सरकारको सन्दर्भमा यसअघि नै शीर्ष नेताबीच समझदारी भएको छ, । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको प्रक्रियामा गइसकेको सन्दर्भमा दर्ताको निर्णय भएपछि नै सरकारलाई पूर्णता दिइने छ ।’ उनले भने ।
श्रेष्ठले माधव नेपालको पार्टीले दर्ताको प्रमाणपत्र पाएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । निर्वाचन आयोगले नेता नेपालको पार्टीलाई आधिकारिकताको लागि सनाखत गर्न बुधवारको समय दिएको छ ।
नेकपा एमालेबाट विद्रोह गरेर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेता नेपालले दलको मान्यता पाएपछि सरकारलाई पुर्णता दिने जनाइएको हो । सरकार गठन भएको एक महिना पुगिसकेको भएपनि पुर्णता नपाएको अबस्थामा मन्त्रीमण्डल विस्तार गर्ने तयारी शुरु भएको हो ।




