मुख्य समाचार

प्रधानमन्त्री निवासमा संवैधानिक परिषदको बैठक बस्दै, प्रचण्डको असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बोलाएको संवैधानिक परिषदको बैठक बस्ने भएको छ । प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नि सापकोटाको अनुपस्थितिका कारण आइतवार बस्न नसकेको संवैधानिक परिषदको बैठक अहिले बस्न लागेको हो ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बस्ने बैठकले बिभिन्न संवैधानिक अंगमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी छ । आजको बैठकमा विपक्षी दलका नेता देउवा सहभागी हुने भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तसहित अन्य बिभिन्न संवैधानिक निकायमा लामो समयदेखि पदाधिकारी रिक्त छन् । यसअघि पनि पटक पटक विपक्षी दलका नेता सहभागी नभएपछि बैठक बस्न सकेको थिएन ।

सरकारले गत वैशाखमा अध्यादेशमार्फत संवैधानिक परिषदको बैठकमा बहुमतले निर्णय लिन सक्ने व्यवस्था गर्न लागेको थियो । तर राजनीतिक दलसम्बन्धी अध्यादेश विवादमा परेपछि उक्त अध्यादेश पनि फिर्ता भएको थियो ।

आजको बैठकले रिक्त रहेको संवैधानिक निकायमा पदपूर्ति गर्ने सम्भावना रहेको छ । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोक सेवा आयोग लगायतका निकायमा ४५ पद रिक्त रहेका छन् ।

नेकपामा आन्तरिक किचलो उत्कर्षमा पुगेका बेला संवैधानिक परिषद्को बैठकले विभिन्न आयोगमा पदाधिकारी नियुक्तिको सिफारिस गर्ने छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको असन्तुष्टिका बाबजुद प्रधानमन्त्रीले परिषद्को बैठक राखेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *