काठमाडौं।नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक मंगलबार बिहान ९ बजे पार्टी मुख्यालय सानेपामा बस्ने जनाइएको छ।
राष्ट्रपति निर्वाचनलाई लिएर नयाँ राजनीतिक समीकरण निर्माण हुँदा सत्तामा फर्किएको कांग्रेसले कसको नेतृत्वमा सरकारमा जाने भनेर निर्णय गरिसकेको छैन। यद्यपि नेताहरुबीच भने सरकारमा पार्टीको नेतृत्व गर्ने विषयमा छलफल भइरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएको एक हप्ता पुग्दा पनि सत्तारुढ दलले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।
प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालयको भार बोकेको झण्डै दुई महिना पुग्न लागेको छ । कांग्रेसमा आकांक्षी बढी हुँदा मन्त्री बन्नेको नाम टुंगो लगाउन सकस परेको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेका छन् ।





