पश्चिम नवलपरासी ।कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले राष्ट्रपति निर्वाचनअघि नै पार्टी सरकारमा सहभागी हुने बताएका छन् । मंगलबार नेपाल प्रेस युनियन पश्चिम नवलपरासीले भुमहीमा आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले केही दिनमै कांग्रेस सरकारमा जाने बताएका हुन् ।
´आठदलीय गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ, उनले भने ´केही दिनमा नै महत्त्वपूर्ण मन्त्रालय हित हाम्रो पार्टी सरकारमा जाँदैछ । अन्य दल पनि सहभागी हुनेछन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली ‘सुपर प्रधानमन्त्री’ बन्न खोजेकाले माओवादी-एमाले गठबन्धन नेतृत्वको सरकार नटिकेको पनि पौडेलको भनाइ थियो । कांग्रेसले कतिपय समयमा रणनीतिक योजनामा त्रुटि गरे पनि त्यसलाई सच्याएर अगाडि बढ्ने पौडेलको भनाइ छ । देश आर्थिक संकटमा जाँदै गरेकाले अहिले राष्ट्रिय सहमतिमा सबैले जोड दिनुपर्ने पौडेलले बताए ।
माओवादी नेतृत्वको सरकारबाट एमालेसहित राप्रपा र रास्वपा बाहिरिएका छन् । राष्ट्रपति निर्वाचनमा समीकरण बदलिएपछि सत्ता समीकरण पनि बदलिने संकेत देखिएको छ ।




