ताजा समाचार

लुम्बिनीमा मन्त्रालयको भागबन्डा टुंगियो, मन्त्रीहरुको शपथ भोलि

दाङ । सरकार गठनको एक महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तारको तयारी अन्तिम चरणमा पुर्‍याएका छन् ।

मुख्यमन्त्री गिरीले मन्त्रिपरिषद बिस्तारको तयारी गरेपछि लुम्बिनी प्रदेशमा आइतबार (माघ २९) नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण हुने भएको छ। प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभा परिसरमा आइतबार दिउँसो १ बजे नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम हुने भएको हो ।

सत्ता साझेदार दलहरुबीच सहमति गरेर मन्त्रालयको भागबन्डा टुंगो लगाइएको छ । तर, मन्त्रालय र मन्त्रीको नाम भने अझैसम्म औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।

दलभित्र आन्तरिक छलफल भइरहेको र मन्त्री बन्न आकांक्षीहरु धेरै भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ । यसअघि एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसी विनाविभागीय मन्त्री भइसकेका छन् ।

सरकारमा मुख्यमन्त्रीसहित एमालेका चार, माओवादी केन्द्रका तीन, राप्रपा, जनमतलगायत साना दललाई एक-एक मन्त्रालय दिनेगरी तयारी भइरहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्रालय बनाउने निर्णय भएको थियो । तर सत्ता साझेदार दलहरुबीच सहमति जुटाउन मन्त्रालयको संख्या बढाएर भएपनि अघि बढ्न दबाब परेको छ ।

माओवादीका एक नेताका अनुसार माओवादी केन्द्रको भागमा महत्वपूर्ण मानिएका पूर्वाधार विकास, आन्तरिक मामिला, अर्थ मन्त्रालय परेका छन् भने बाँकी सामाजिक विकास, कृषि, स्वास्थ्य लगायतका मन्त्रालय एमालेसहित अन्य साना दलको भागमा पुग्ने देखिएको छ । मुख्यमन्त्री गिरी सत्तासाझेदार दलहरुबीच सहमति खोज्न निरन्तर छलफलमा व्यस्त छन् ।

माओवादी केन्द्रले मन्त्री बन्नेहरुको नाम लगभग टुंगो लगाएको जनाएको छ । माओवादीले संसदीय दलका नेता रोल्पाका जोखबहादुर महरालाई अर्थमा पठाउने र दाङका इन्द्रजित चौधरी वा दाङकै धनबहादुर मास्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाउने बताइएको छ । अर्को मन्त्रालयमा यसअघि विनाविभागीय मन्त्री बनेकी कृष्णा केसीलाई जिम्मेवारी दिइने छ ।

एमालेबाट यस अघि विनाविभागीय मन्त्री बनेका चेतनारायण आचार्यलाई एक मन्त्रालयको जिम्मेवारी दिने भएको छ भने अन्य मन्त्रीको टुंगो लगाएको छैन । सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले पनि मन्त्री बन्नेहरुको नाम टुंगिसकेको बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारमा जसपाबाट संसदीय दलका नेता बाँकेका भण्डारीलाल यादव, राप्रपाबाट कपिलवस्तुका जानकीप्रसाद यादव र जनमत पार्टीबाट रुपन्देहीका चन्द्रकेश गुप्ता सरकारमा जाने लगभग पक्का भएको छ ।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी भने तत्काल सरकारमा नजाने भएको छ । उक्त दलको संसदीय दलका नेता धर्मबहादुर चौधरीले पार्टीका संरक्षक रेशमलाल चौधरीसहित थुनामा रहेका नेता कार्यकर्ताहरु रिहा नभएसम्म आफूहरु सरकारमा नजाने तर सरकारलाई दिएको समर्थन भने कायमै रहने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *