ताजा समाचार

पार्टीको फुटको औचित्य पुष्टि गर्न अध्यक्ष नेपाललाई पोलिटब्युरो सदस्य केसीको चुनौती

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य शेरबहादुर केसीले पार्टी नेतृत्वलाई एमालेसँग भएको पार्टी फुटको औचित्य पुष्टि गर्न चुनौती दिएका छन् ।

मंगलबार जारी पार्टीको पोलिटब्युरो बैठकमा बोल्दै पोलिटब्युरो सदस्य केसीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पार्टी फुटको औचित्य पुष्टि गर्न चुनौती दिएका हुन् ।

बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले नेतृत्वमाथि प्रश्न तेर्‍याउँदै भने, ‘हाम्रो गन्तव्य कहाँ पुग्ने हो ? यसरी पुगिन्छ गन्तव्यमा ? एमालेबाट विद्रोह किन गरेका थियौँ ? त्यसको पुष्टि कसरी गर्नुहुन्छ ? जवाफ चाहन्छु ।’

पोलिटब्युरो सदस्य केसीले नेतृत्वलाई पार्टी फुटको औचित्य पुष्टि गर्न चुनौती दिँदा बैठकमा सहभागी अन्य सदस्यहरुले पनि समर्थन जनाएका थिए ।

सरकारबारे धारणा तय गर्न एकीकृत समाजवादीले पोलिटब्युरो बैठकमा छलफल गरिरहेको छ । सोमबारदेखि जारी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले एकीकृत समाजवादी र अन्य वामपन्थी शक्तिबीच एकता हुनुपर्नेमा जोड दिएका छन् ।

यसअघि शनिबार र आइतबार दुई दिन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बसेको थियो । उक्त बैठकले सरकारका विषयमा स्पष्ट धारणा तय गर्न नसकेपछि पोलिटब्युरो बैठक डाकिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *