ताजा समाचार

प्रधानमन्त्री देउवालाई प्रकाशमानको ब्रिफीङ,प्रधानमन्त्री बन्ने मनस्थितिमा प्रचण्ड

काठमाडौं ।नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै नेता सिंहले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेट गरेका हुन्।

नेता सिंहले प्रचण्ड सहजै प्रधानमन्त्री पदबाट पछि नहट्ने आफूले पाएको प्रधानमन्त्रीलाई ब्रिफीङ गरेका थिए। प्रधानमन्त्री देउवाले यसबारे सत्तागठबन्धनभित्र घनीभूत छलफल गरिने बताएको बालुवाटार स्रोतले जनाएको छ।

प्रचण्ड सकेसम्म वर्तमान सत्ता गठबन्धनको समर्थनमा प्रधानमन्त्री बन्ने, नत्र एमाले र साना दलको समर्थनमा प्रधानमन्त्री बन्ने मनस्थितिमा रहेको बुझिएको छ।

प्रचण्ड जसरी पनि आफू प्रधानमन्त्री बन्ने दाउमा छन्। त्यसका लागि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री देउवासँग समानान्तर पहल गरिरहेका छन्।

देउवा विभिन्न दूतमार्फत् प्रचण्डलाई मनाउन खोजिरहेका छन् भने प्रचण्ड कुनै पनि हालतमा देउवालाई गलाउन लागिपरेका छन् ।

बिहीबार बेलुकी प्रधानमन्त्री देउवा,प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा सत्तासमीकरणबारे छलफल भएको थियो। गठबन्धन दलभित्र प्रधानमन्त्री को बन्नेबारे टुंगो लगाउन सकस देखिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि पुस १० गतेसम्म समयसीमा दिएकी छन्।

दुई दिन बाँकी रहँदा गठबन्धनका नेताहरू सरकार गठनका लागि छलफल तीव्र पारेका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *